काठमाडौं / इरान र इजरायलबीच चर्किएको द्वन्द्वले मध्यपूर्व क्षेत्रमा गम्भीर तनाव उत्पन्न गरेसँगै गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्ले उक्त क्षेत्रमा रहेका लाखौँ नेपालीहरूलाई उच्च सतर्कता अपनाउन र सुरक्षित रहन अपिल गरेको छ ।
महेश श्रेष्ठ नेतृत्वको एनआरएनए आइसिसीले सोमबार एक विज्ञप्ति जारी गर्दै बदलिँदो परिस्थितिका कारण खाडी मुलुकहरू कतार, युएई, बहराइन, कुवेत, साउदी अरबलगायत इजरायल र इराकमा रहेका नेपालीहरूको सुरक्षाप्रति गहिरो चिन्ता व्यक्त गरेको हो ।
- ADVERTISEMENT -

‘इरानले कतारस्थित अमेरिकी सैन्य अखडातर्फ मिसाइल प्रहार गरेको खबरले हामीलाई थप चिन्तित बनाएको छ,’ अध्यक्ष श्रेष्ठ तथा महासचिव बी। आर। लामाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘हामी सम्बन्धित देशका सरकार, स्थानीय सुरक्षा निकाय तथा नेपाली दूतावासका निर्देशनहरू पूर्ण रूपमा पालना गर्न ती मुलुकहरूमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई हार्दिक अपिल गर्दछौँ ।’
संघले द्वन्द्वग्रस्त इजरायल तथा इरानमा रहेका नेपालीहरूको उद्धारका लागि नेपाल सरकार र परराष्ट्र मन्त्रालयले भारत सरकारको समेत सहयोगमा गरिरहेको पहलको प्रशंसा गरेको छ । साथै, संघले आफ्ना सबै राष्ट्रिय समन्वय परिषद् ९एनसीसी० हरूलाई सक्रिय भई स्थानीय नेपाली समुदायलाई सही सूचना प्रवाह गर्न र सक्दो सहयोग पुर्याउन निर्देशन दिएको छ ।
एनआरएनए आइसिसीले चौबीसै घण्टा परिस्थितिको अनुगमन गरिरहेको र नेपाल सरकार, सम्बन्धित देशका दूतावासहरू तथा एनसीसीहरूसँग निरन्तर सम्पर्कमा रहेर हरसम्भव सहयोग गर्न तत्पर रहेको जनाएको छ । यसैबीच, इरान र इजरायलबीच युद्धविराम भएको अपुष्ट समाचारहरू सार्वजनिक भएका छन्, यद्यपि यसको स्वतन्त्र पुष्टि र विस्तृत विवरण आउन भने बाँकी छ ।









































