चितवन / भरतपुर–७, कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीमा दोस्रो संस्करणको त्रिदिवसीय ‘अङ्कुरम्– नमुना संयुक्त राष्ट्रसंघ कार्यक्रम’ शनिबारदेखि सुरु भएको छ । काठमाडौँ, नवलपुर र चितवनलगायतका १८ विद्यालयका २४८ जना विद्यार्थीको सहभागिता रहेको कार्यक्रममा संयुक्त राष्ट्र संघका छवटै कमिटीको प्रतिनिधित्व रहेको छ ।
कार्यक्रमको उद्घाटन गर्दै भरतपुर–६ का वडाध्यक्ष राजेन्द्रमणि काफ्लेले विल्कुलै नयाँ किसिमको कार्यक्रममा सहभागी हुन पाउँदा खुशी लागेको बताए । उनले भने, ‘यस्ता रचनात्मक क्रियाकलापले विद्यार्थीको सर्वाङ्गीण विकासमा टेवा पुग्छ,’ विद्यार्थीहरू विश्वव्यापीरूपमा प्रतिस्पर्धा गर्न सक्षम हुन्छन् ।’
- ADVERTISEMENT -

संयुक्त राष्ट्रसंघका छवटै कमिटीको प्रतिनिधित्व गर्दै सुरु भएको कार्यक्रममा संयुक्त राष्ट्रसंघ मानव अधिकार परिषद्का सभापति बूढानिलकण्ठ स्कुल काठमाडौँकी छात्रा अविश्या कार्की र उपसभापति अङ्कुरम् एकेडेमीकी स्नेह कर्माचार्य नेतृत्वको कमिटीले ‘सामूहिक बसाइँसराइँको समयमा मानवअधिकारको संरक्षण ः विदेशीप्रति घृणा, नजरबन्द र सिमानाको हरियारीकरण’ विषयमा अध्ययन तथा अनुसन्धान गरी संकल्प प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्का सभापति अङ्कुरम् एकेडेमीकी प्रिसा न्यौपाने र उपसभापति युरिका पौडेलको कमिटीले ‘सशस्त्र द्वन्द्वग्रस्त क्षेत्रका नागरिकको सुरक्षा’ विषयमा अनुसन्धान गर्नेछ भने अङ्कुरम् एकेडेमीकै दिमिसा विष्ट र अनाघा श्रेष्ठ सभापति तथा उपसभापति रहेको संयुक्त राष्ट्र संघीय वातावरण कार्यक्रमअन्तर्गत ‘प्लाष्टिक प्रदूषणको सम्बोधन र विश्वव्यापी ऊर्जा संकटको अन्त्यका लागि क्रियाशीलता’ विषयमा अध्ययन, अनुसन्धान र बहस हुने कार्यक्रम छ ।
युएनको अर्को कमिटी संयुक्त राष्ट्रसंघीय बाल कोषका सभापति एवम् उपसभापति क्रमशः शुभांशराज केसी र विशाल सापकोटा रहेका छन् । उनीहरुको कमिटीले ‘युद्धग्रस्त क्षेत्रमा बालकालिकाको सुरक्षा’ विषयमा बहस गर्नेछ ।
विश्व स्वास्थ्य संगठनको नेतृत्व गरेका अङ्कुरम् एकेडेमीका सिर्जना लम्साल र रुपेश घिमिरे क्रमशः सभापति र उपसभापति रहेका छन् भने उनीहरूको कमिटीले ‘नसर्ने रोगहरू र मानसिक स्वास्थ्य ः विश्वव्यापी स्वास्थ्यसेवामा समानताको वकालत’ विषयमा बहस गरी संकल्पपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
त्यसैगरी, संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक संगठनको सभापतिको भूमिका अङ्कुरम् एकेडेमीका आकर्षा सापकोटा र उपसभापतिको भूमिका सौर्य पौडेलले निर्वाह गरिरहेको कमिटीमा ‘विज्ञान शिक्षा र साँस्कृतिक संरक्षणमार्फत जलवायु परिवर्तनको सामना’ विषयमा बहस हुँदैछ । कार्यक्रममा अन्तर्राष्ट्रिय प्रेस संयोजकको भूमिकामा रहेका कक्षा १० का विद्यार्थी अनिश बरालको नेतृत्वमा १० जनाको कमिटी रहेको छ । उक्त कमिटीले छवटै कमिटीमा बहस गरिएका विषयबाट आएको संकल्प प्रस्तावमाथि प्रश्न गर्ने कार्यक्रम छ महासचिव अर्जुन जी शर्माले जानकारी दिए ।
उद्घाटन कार्यक्रममा नमुना संयुक्त राष्ट्रसंघ कार्यक्रमका महासचिव अर्जुन जी शर्मा, उपमहासचिव रीताकुमारी उपाध्याय र कार्यक्रमका सल्लाहकार प्राचार्य सुमन पौडेल, विद्यालयका आवासीय निर्देशक नईम चौधरी र निर्देशक सरला पौडेललगायतको उपस्थिति रहेको थियो ।










































