बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले आफ्नो विजययात्रा कायमै राखेको छ । बायर्न म्युनिखले शनिबार बिहान सम्पन्न आफ्नो पछिल्लो खेलमा वेर्डर ब्रेमेनलाई ४–० गोलको फराकिलो अन्तरले हरायो ।
जारी सिजनको बुन्डेसलिगामा बायर्न म्युनिखको लगातार पाँचौं जीत हो । बायर्न म्युनिख १५ अंकसहित तालिकाको पहिलो स्थानमा आसिन छ । जारी सिजन आफूले खेलेको सबै खेल जित्ने बायर्न म्युनिख एकमात्र टोली पनि हो ।
- ADVERTISEMENT -

घरेलु मैदानमा खेलिएको पछिल्लो खेलमा बायर्न म्युनिखको जीतमा ह्यारी केन नायक बने । उनले टोलीका लागि दुई गोलको योगदान गरे । उक्त खेलमा ह्यारी केनले गजबको कीर्तिमान पनि बनाए ।
इङ्ल्यान्डका ३२ वर्षीय स्ट्राइकर केन यो शताब्दीमै सबैभन्दा छिटो एक सय गोल गर्ने खेलाडी बनेका छन् । युरोपका पाँच उत्कृष्ट घरेलु लिगमै यस्तो उपलब्धि हासिल गर्ने केन पहिलो खेलाडी बने । उनले बायर्नका लागि एक सय चार खेल खेल्दै एक सय गोलको कोशेढुङ्गा पूरा गरेका हुन् ।
- ADVERTISEMENT -

यसअघि, सन् २०११ मा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले स्पेनिस क्लब रियल म्याड्रिडबाट खेल्दै एक सय पाँच खेलमा एक सय गोलको कोशेढुङ्गा पूरा गरेका थिए । अहिले आएर केनले सोही कीर्तिमान तोडेका हुन् ।
खेल शुरू भएको २२ औं मिनेटमै जोनाथन ताहले बायर्नका लागि पहिलो गोल गरेका थिए । निर्धारित समयको ४५ औं मिनेटमा इङ्ल्यान्डको राष्ट्रिय टोलीका कप्तानसमेत रहेका केनले बायर्नको अग्रता दोब्बर बनाएका थिए । उनले उक्त गोल पेनाल्टीमार्फत गरेका थिए ।
केनले नै ६५ औं मिनेटमा टोलीका लागि तेस्रो गोल थपेका थिए । बायर्नका लागि चौथो गोल भने निर्धारित समयको खेल सकिनुभन्दा तीन मिनेटअघि कोनराड लाइमरले गरेका थिए ।


















































