चितवन / गैंडाकोटको नारायणी नदी किनारमा हरेक वर्षझैँ यस वर्ष पनि ‘चौथो गैंडाकोट महोत्सव २०८२’ हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले महोत्सवको समुद्घाटन गर्ने कार्यक्रम रहेको कार्यक्रम संयोजक छविलाल कँडेलले जानकारी दिए ।
उद्योग वाणिज्य संघ गैंडाकोटको आयोजनामा हुन गइरहेको महोत्सवको हाल तयारी तीब्र गतिमा भइरहेको संयोजक कंडेलले बताए । महोत्सवमा २५० स्टल रहने छन् भने यही पुस २५ देखि माघ १० गतेसम्म सञ्चालन हुनेछ ।
- ADVERTISEMENT -

महोत्सवमा स्थानीय उत्पादन तथा व्यवसायलाई प्राथमिकता दिइएको संयोजक कँडेलले बताए । करिब २ लाख दर्शकले अवलोकन गर्ने र लगभग २५ करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा आयोजकको छ ।

१५ दिनसम्म चल्ने महोत्सवमा गैंडाकोटको उद्योग, व्यापार र पर्यटनलाई जोड दिइएको छ । जेनजी आन्दोलनपछि निजी क्षेत्रमा परेको प्रभावलाई उत्थान गर्नका लागि महोत्सवले थप बल पुग्ने उनको भनाइ छ ।
उद्योग वाणिज्य संघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले विगतका महोत्सवले पनि यस क्षेत्रको आर्थिक, सामाजिक क्षेत्रलाई प्रर्वद्धन गरेकोले यसवर्ष पनि निरन्तरता दिन लागिएको बताए ।
महोत्सवमा अटोमोबाइल, बैंक–वित्त, इलेक्ट्रोनिक्स, निर्माण सामग्री, कृषि–जडीबुटी, हस्तकला, कपडा, जुत्ता–चप्पल लगायतका सामग्रीको प्रदर्शनी तथा विक्री हुनेछ । बंगलादेश, पाकिस्तान र भारतका प्रदर्शकहरूको समेत सहभागिता रहने बताइएको छ ।
सांस्कृतिक कार्यक्रम, राष्ट्रिय कलाकारको प्रस्तुति, फेशन शो, बाल उद्यान, जल–मनोरञ्जन तथा विविध आकर्षण समेत रहने आयोजकले जनाएको छ ।









































