चितवन / भरतपुर नगर तामाङ समाजका आयोजनामा भरतपुर ११, भोजाडको छेच्यु थर्पलिङ गुम्बामा आज (शनिबार) शुभकामना आदानप्रदान तथा विविध साँस्कृतिक कार्यक्रम हुँदैछ ।
समाजका अध्यक्ष सुर्यप्रकाश लामाका अनुसार उक्त विविध साँस्कृतिक कार्यक्रममा राष्ट्रिय कलाकार फूलकुमार बमजन, सेलो मदन घलान र स्थानीय कलाकारहरुको प्रस्तुति रहने छ ।
- ADVERTISEMENT -

म्हाणिमा आमा समूहले डम्फूको नृत्य पस्किने छ भने वृहत रक्तदान कार्यक्रम पनि हुने आयोजकले जनाएको छ । समाजले गुम्बामा २०६६ सालदेखि सोनाम ल्होछार हर्षोल्लासका साथ मनाउँदै आएको छ ।
हरेक वर्ष ल्होछारकै दिनमा गर्ने कार्यक्रमलाई यो पटक ल्होछारको पहिलो शनिबार गर्ने निर्णय भए अनुसार नयाँ थालनीको सुरुवात गरिएको हो ।
अध्यक्ष लामाले कार्यक्रममा सम्पूर्ण तामाङ तथा अन्य समुदायहरुलाई सहभागिताका लागि आह्वान समेत गरेका छन् । समाजले विगत १७ वर्षदेखि छेच्यु थर्पलिङ गुम्बामा तामाङ समुदायको महान पर्व सोनाम ल्होछार मनाउँदै आएको छ ।
















































