काठमाडौं / आईसीसी टी–२० विश्वकप २०२६ को समूह चरण अन्तर्गत आज (आइतबार) नेपालले दुई पटकको विश्वविजेता वेस्ट इन्डिजको सामना गर्दैछ । खेल मुम्बईस्थित ऐतिहासिक वानखेडे स्टेडियममा बिहान सवा ११ बजे सुरु हुनेछ ।
सुरुवाती दुई खेलमा पराजय बेहोरेको नेपाललाई अघिल्लो चरणको झिनो आशा कायमै राख्न आजको खेल जित्नैपर्ने दबाब छ । अर्कोतर्फ, लगातार दुई जित निकालेको वेस्ट इन्डिज आज नेपाललाई हराउँदै ‘सुपर ८’ मा आफ्नो स्थान सुरक्षित गर्ने दाउमा छ । नेपालका लागि आजको हारले प्रतियोगिताको यात्रामा पूर्णविराम लगाउने निश्चित छ ।
- ADVERTISEMENT -

खेलअघिको पत्रकार सम्मेलनमा नेपाली टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट लले टोलीलाई सचेत गराउँदै भनेका छन्, ‘हामीसँग अब दुई विकल्प मात्र छन्( कि त उत्कृष्ट खेल खेलेर जित निकाल्ने, कि झोला प्याक गरेर घर फर्किने ।’ प्रशिक्षक लले खेलाडीहरूलाई मैदानबाहिरका विषय र सामाजिक सञ्जालको चर्चाभन्दा खेलको रणनीतमा ध्यान केन्द्रित गर्न निर्देशन दिएका छन् ।
इतिहास र सम्भावित समीकरण
तथ्याङ्कको आधारमा नेपाल वेस्ट इन्डिजमाथि केही हाबी देखिन्छ । यी दुई टोलीबीच भएका पछिल्ला तीन टी(२०आई खेलमा नेपालले दुई खेल जितेको सुखद इतिहास छ । तर, हालको वेस्ट इन्डिज टोली निकै सन्तुलित र आक्रामक रहेकाले नेपाललाई सो जित दोहोर्याउन कठिन चुनौती हुनेछ ।
- ADVERTISEMENT -

वेस्ट इन्डिजका घातक ब्याटरहरूलाई रोक्न नेपालले आजको टोलीमा केही रणनीतिक परिवर्तन गर्ने सम्भावना छ । मिस्ट्री स्पिनर शेर मल्ल र अनुभवी पेस बलर सोमपाल कामीलाई अन्तिम ११ मा समावेश गरिने आकलन गरिएको छ । साथै, ब्याटिङतर्फ कुशल भुर्तेलको फर्म र सन्दीप लामिछानेको जादुयी बलिङ नेपालका लागि ‘एक्स फ्याक्टर’ बन्न सक्छन् ।
वेस्ट इन्डिजका तर्फबाट कप्तान शाइ होप र स्पिनर अकिल होसेन नेपाली टोलीका लागि मुख्य चुनौतीका रूपमा रहनेछन् । मुम्बईको ब्याटिङमैत्री पिचमा टसको भूमिका पनि महत्त्वपूर्ण हुने देखिन्छ ।
नेपालको सम्भावित ११स्
कुशल भुर्तेल, लोकेश बम (विकेटकिपर), रोहित पौडेल (कप्तान), आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सन्दीप जोरा, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, शेर मल्लरललित राजवंशी ।








































