निर्वाचन लोकतन्त्रको उत्सव हो, जहाँ नागरिकले आफ्नो अधिकार प्रयोग गरी प्रतिनिधि चयन गर्छन् । तर, विडम्बना के छ भने, यो उत्सवमा बालबालिकालाई सहभागी गराउने प्रवृत्ति अझै कायम छ । निर्वाचन आयोगले हालै जारी गरेको विज्ञप्तिमा राजनीतिक दल तथा उमेदवारलाई प्रचारप्रसारमा बालबालिकाको प्रयोग नगर्न आग्रह गर्नु औपचारिक चेतावनी मात्र नभएर संविधान र कानुनले प्रत्याभूत गरेको बालअधिकारको संरक्षणको आह्वान् पनि हो । निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ मा स्पष्ट प्रावधान छ, बालबालिकालाई प्रचारप्रसार, आमसभा वा जुलुसमा प्रयोग गर्न पाइँदैन । यसलाई उल्लङ्घन गर्ने दल वा उमेदवारलाई जरिवाना वा उमेदवारी नै रद्द गर्ने कारबाहीसम्मको व्यवस्था गरिएको छ । यसले देखाउँछ कि कानुनले बालबालिकाको प्रयोगलाई गम्भीर अपराधका रूपमा लिएको छ । संविधानले बालबालिकालाई शिक्षा, स्वास्थ्य, खेलकुद, र सुरक्षित वातावरणमा हुर्किने अधिकार सुनिश्चित गरेको छ । राजनीतिक लाभका लागि उनीहरूको बालपनलाई प्रयोग गर्नु संविधानको मर्मविपरीत हुन्छ ।
चुनावी अभियानमा बालबालिकालाई झण्डा बोकेर, नाराबाजी गराएर वा सांस्कृतिक कार्यक्रममा सहभागी गराएर देखाउने प्रवृत्ति दृश्यात्मक आकर्षण मात्र होइन, उनीहरूको मानसिक विकासमा नकारात्मक असर पार्ने काम हो । विद्यालय समयमा विद्यालयनजिकै चुनावी कार्यक्रम आयोजना गर्दा शैक्षिक वातावरणमा अवरोध सिर्जना हुन्छ । यसले बालबालिकाको अध्ययनमा प्रत्यक्ष असर पार्छ । बालबालिकालाई राजनीतिक रङ्गमा रंगिनु उनीहरूको स्वतन्त्र सोच र भविष्यलाई सीमित गर्ने कार्य हो । राजनीतिक दलहरूले बालबालिकालाई प्रयोग गर्नु आफ्नो लोकप्रियता बढाउने सस्तो तरिका हो । तर, यो संस्कारले लोकतन्त्रलाई नै कमजोर बनाउँछ । लोकतन्त्रको बल नागरिकको सचेत सहभागितामा हुन्छ, बालबालिकाको निर्दोष उपस्थितिमा होइन । दलहरूले बालबालिकाको अधिकारको सम्मान गर्दै उनीहरूलाई शिक्षा र खेलकुदमा प्रोत्साहित गर्ने वातावरण बनाउनुपर्छ, चुनावी नारामा डो¥याउनु होइन ।
- ADVERTISEMENT -

निर्वाचन आयोगले बालबालिकाको अधिकार संरक्षणमा गरेको आह्वान् सराहनीय छ । यद्यपि आयोगले निगरानी र कारबाहीलाई कठोर बनाउनुपर्छ । दल वा उमेदवारले बालबालिकाको प्रयोग गरेको प्रमाण भेटिएमा तुरुन्त कारबाही गर्नुपर्छ । यससँगै अभिभावक, विद्यालय र समाजले पनि बालबालिकालाई राजनीतिक गतिविधिबाट टाढा राख्ने जिम्मेवारी लिनुपर्छ । बालबालिका राष्ट्रको भविष्य हुन् । उनीहरूको बालपनलाई राजनीतिक प्रचारको साधन बनाउनु अमानवीय मात्र होइन, लोकतान्त्रिक मूल्यको अपमान पनि हो । निर्वाचन लोकतन्त्रको उत्सव हो भने बालबालिकाको संसार शिक्षा, खेलकुद र सिर्जनात्मकता हो । त्यसैले, राजनीतिक दल र उमेदवारहरूले बालबालिकाको अधिकारको सम्मान गर्दै निर्वाचन प्रचारप्रसारमा उनीहरूको प्रयोग नगर्ने संस्कारलाई दृढतापूर्वक अङ्गिकार गर्नुपर्छ । यही मार्गले लोकतन्त्रलाई बलियो बनाउनुको साथै बालबालिकाको भविष्यलाई सुरक्षित राख्न सकिन्छ ।









































