काठमाडौं / बेलायतमा सडक दुर्घटना गराई एक नेपाली विद्यार्थीको ज्यान लिएको अभियोगमा चर्चित बेलायती र्यापरलाई अदालतले १२ वर्षको जेल सजाय सुनाएको छ । लन्डनस्थित केन्द्रीय फौजदारी अदालत (ओल्ड बेली) ले मंगलबार ४१ वर्षीय र्यापर जस्टिन क्लार्क स्यामुएल, जो ‘गेट्स’ नामले चर्चित छन्, उनलाई दोषी ठहर गर्दै उक्त कैद सजाय सुनाएको हो ।
घटना विवरण अनुसार, गत १८ अक्टोबर २०२५ मा उत्तर पूर्वी लन्डनको इल्फोर्डस्थित रेडब्रीज लेनमा बाटो काटिरहेका २० वर्षीय नेपाली विद्यार्थी युबिन तामाङलाई र्यापर गेट्सले चलाएको तीव्र गतिको बीएमडब्लु कारले ठक्कर दिएको थियो । दुर्घटना लगत्तै गम्भीर घाइते भएका युबिनको उपचारका क्रममा दुई दिनपछि अस्पतालमा निधन भएको थियो ।
- ADVERTISEMENT -

न्यायाधीश मार्क लुक्राफ्ट (केसी) को इजलासले गेट्सलाई ‘खतरनाक तरिकाले सवारी चलाएर मृत्यु गराएको’ अभियोगमा जेल सजाय तोक्नुका साथै आगामी १७ वर्षसम्म सवारी चलाउन अयोग्य हुने गरी प्रतिबन्ध समेत लगाएको छ । स्यामुएलले आफूमाथि लागेको खतरनाक ड्राइभिङ र मादक पदार्थ सेवन गरी सवारी चलाएको अभियोग अदालतमा स्वीकार गरिसकेका छन् ।
अदालती सुनुवाइका क्रममा ३० माइल प्रतिघण्टाको गति सीमा तोकिएको क्षेत्रमा र्यापरले ६० माइल प्रतिघण्टाभन्दा बढीको रफ्तारमा गाडी चलाएको पाइएको थियो । सीसीटीभी फुटेजमा देखिएको उक्त भयावह दृश्यमा ठक्कर दिएपछि गायक घटनास्थलमा नरोकी फरार भएका थिए । प्रहरीले भोलिपल्ट बिहानै उनको घरमा खानतलासी गर्दा दुर्घटनामा क्षतिग्रस्त भएको कालो बीएमडब्लु फेला पारेको थियो ।
धरान उपमहानगरपालिका वडा नं. ११ निवासी विकास तामाङ र शर्मिला मगर तामाङका एकमात्र सन्तान युबिन उच्च शिक्षाका लागि सन् २०२४ सेप्टेम्बरमा बेलायत आएका थिए । उनी युनिभर्सिटी अफ रोह्याम्पटनमा स्नातक तह (बीएस्सी बिजनेस म्यानेजमेन्ट) को दोस्रो वर्षमा अध्ययनरत थिए । भविष्यका कैयौँ सपना बोकेर परदेशिएको एक्लो छोराको अकल्पनीय निधनले परिवार र आफन्तजन गहिरो शोकमा डुबेका छन् ।
यस दुःखद घडीमा बेलायतस्थित नेपाली समुदाय र विभिन्न संघसंस्थाहरुले अग्रसरता देखाउँदै शोकसन्तप्त परिवारलाई आर्थिक सहयोग समेत संकलन गरी हस्तान्तरण गरेका थिए । अदालतको यो पछिल्लो फैसलासँगै पीडित परिवारले न्याय पाएको महसुस गरे पनि युबिनको क्षति अपूरणीय रहेको समुदायका प्रतिनिधिहरुले बताएका छन् ।










































