चितवन / भरतपुर–१७, रामपुरस्थित महाबौद्ध संघ–नेपालको आयोजनामा ‘हिमालयन बौद्ध मृत्यु संस्कार, प्रश्नोत्तर तथा बृहत् सामाजिक एकता अभियान–२०८३’ कार्यक्रम हुने भएको छ ।
यही श्रावण १७ गते आइतबार बौद्ध शिक्षा, शान्ति, मानवसेवा तथा सामाजिक रूपान्तरणलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित रामपुर बजारमा उक्त कार्यक्रम हुन गइरहेको संघका अध्यक्ष मेकना तामाङले जानकारी दिए ।
- ADVERTISEMENT -

अध्यक्ष तामाङका अनुसार कार्यक्रममा हिमालयन बौद्ध मृत्यु संस्कारसँग सम्बन्धित विभिन्न जिज्ञासा, व्यवहारिक अभ्यास तथा समसामयिक विषयमा विस्तृत प्रश्नोत्तर सत्र सञ्चालन गरिनेछ ।
कार्यक्रमका प्रमुख प्रवचक नेपाल तामाङ लामा घेदुङका केन्द्रीय अध्यक्ष धर्मगुरु पाल्देन लामा रहनेछन् । धर्मगुरु लामाले बौद्ध दर्शन, मृत्यु संस्कारको शास्त्रीय आधार, परम्परा, वर्तमान समाजमा देखिएका चुनौती तथा सामाजिक एकताको विषयमा विशेष प्रवचन दिने कार्यक्रम रहेको छ ।
- ADVERTISEMENT -

यस अभियानले बौद्ध समुदायबीच आपसी समझदारी, सामाजिक सद्भाव, सांस्कृतिक संरक्षण तथा सही बौद्ध संस्कारबारे जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा आयोजकको छ ।
बौद्ध धर्मावलम्बी, गुम्बा प्रतिनिधि, लामा गुरु, बुद्धिजीवी, समाजसेवी, युवा तथा इच्छुक सबैलाई कार्यक्रममा सहभागी भई अभियान सफल बनाई दिन अध्यक्ष तामाङले आग्रह समेत गरेको छ ।



















































