– बबिलाल तामाङ
चितवन । आदिवासी जनजाति पत्रकारहरुको छाता संगठन नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनले २७औँ स्थापना दिवस मनाएको छ । शुक्रबार नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) चितवनको सभा हलमा आयोजित कार्यक्रममा इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बिरुवामा पानी हालेर उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष गुरुङले आदिवासी जनजातिका भाषा, संस्कृति, पहिचान तथा दूरदराजका समुदायका आवाजलाई सञ्चार माध्यममार्फत उजागर गर्न फोनिजले खेलेको भूमिका प्रशंसनीय रहेको बताए । उनले स्थानीय तहबाट सञ्चालित सञ्चारमाध्यम तथा पत्रकारहरूको क्षमता अभिवृद्धिमा गाउँपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
- ADVERTISEMENT -

कार्यक्रममा संस्थागत सहयोगमार्फत पत्रकारिता क्षेत्रमा योगदान पुर्याएको भन्दै बिहानी मिडिया डटकमका सञ्चालक आशिक राना र इच्छाकामना न्यूज डटकमका सञ्चालक चित्र सोल्टी गुरुङलाई सम्मान गरिएको थियो । उनीहरूलाई सम्मानपत्र र दोसल्ला प्रदान गरी सम्मान गरिएको हो । सोही अवसरमा यसअघि नै (माघ १५ गते, २०८२) संस्थागत सम्मान गरिएको सेतो नेपालका संचालक सन्तकुमार चौधरीलाई पनि सम्मान पत्र हस्तान्तरण गरिएको थियो ।

यसै अवसरमा फोनिज चितवनले स्थापना गर्न लागेको अक्षय कोषका लागि आर्थिक सहयोग जुटेको छ । फोनिज चितवनका अध्यक्ष तुलमान गुरुङले १५ हजार रुपैयाँ, न्यूजप्रवाह डटकमकी शाखा प्रमुख विना तामाङले ५ हजार ५ सय ५५ रुपैयाँ, फोनिज बागमती प्रदेशका पूर्व उपाध्यक्ष राजेश रुम्बाले ११ हजार १ सय ११ रुपैयाँ, फोनिजकर्मी विनिता श्रेष्ठले ७ हजार ७ सय ७७ रुपैयाँ, फोनिजकर्मी उमेश श्रेष्ठले ५ हजार ५ सय ५५ रुपैयाँ, बिहानी मिडियाका सञ्चालक आशिक रानाले ५ हजार ५ सय ५५ रुपैयाँ, नेपाल आदिवासी जनजाति महिला महासंघ चितवनकी अध्यक्ष शोभा थापामगरले ४ हजार रुपैयाँ तथा भरतपुर–२ निवासी चन्दा गुरुङले ५ हजार रुपैयाँ सहयोग प्रदान गरेका छन् ।
फोनिज चितवनका अनुसार यसअघि संस्थाको बैठकबाट अक्षय कोषका लागि २० हजार रुपैयाँ छुट्याइएको थियो भने हालसम्म ७९ हजार ५ सय ५३ रुपैयाँ संकलन भइसकेको जनाएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष बसन्त पराजुली, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति चितवनका अध्यक्ष सागर कुमाल, नेपाल आदिवासी जनजाति महिला महासंघ चितवनका अध्यक्ष शोभा थापामगर, फोनिजका संस्थापक अध्यक्ष सन्तकुमार चौधरी, तामाङ पत्रकार संघ चितवनका अध्यक्ष प्रकाश तामाङलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । वक्ताहरूले व्यावसायिक पत्रकारितासँगै आदिवासी जनजातिका अधिकार, भाषा, संस्कृति र आवाजलाई सशक्त रूपमा उठाउन फोनिजले निरन्तर महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे ।

फोनिज चितवनका अध्यक्ष तुलमान गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव आशिक रानाले गरेका थिए भने उपाध्यक्ष उर्गेन तामाङले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा स्थानीय सञ्चारकर्मी, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा जनजाति समुदायका अगुवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।


















































