काठमाडौँ / ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ स्थित दोभान बजारमा भीषण आगलागी भएको छ । आगलागीबाट हालसम्म करिब १० वटा घर जलेर पूर्ण रूपमा नष्ट भएका छन् ।
घटनास्थलमा सुरक्षाकर्मी र स्थानीयवासीको टोलीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार आगो निभाउन सशस्त्र प्रहरी बल नं. १ कञ्चनजङ्घा गुल्मबाट उद्धार टोली खटाइएको छ ।
- ADVERTISEMENT -

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको संयुक्त प्रयासमा दमकलको प्रयोग गरी आगो नियन्त्रणको प्रयास भइरहेको जानकारी दिएका छन् । करिब ५० घरधुरी रहेको उक्त बजारमा आगलागीका कारण थप क्षति हुन नदिन तीव्र रूपमा उद्धार कार्य जारी छ ।


















































