काठमाडौं / रसुवा बाढीपहिरोपछि उद्धार तथा खोजी कार्य जारी रहे पनि विपद्मा ज्यान गुमाउनेको संख्या १ हजार ३ सय ६७ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्बाट प्रभावित विभिन्न जिल्लामा ठूलो मानवीय क्षति भएको छ भने ५ हजारभन्दा बढी व्यक्ति अझै सम्पर्कविहीन छन् ।
गृह मन्त्रालयअन्तर्गतको प्राधिकरणले बुधबार बिहान ११ बजे सार्वजनिक गरेको खोज, उद्धार तथा राहतसम्बन्धी विवरणअनुसार हालसम्म विभिन्न जिल्लाबाट १ हजार ३६७ जनाको मृत्यु भएको विवरण प्राप्त भएको हो ।
- ADVERTISEMENT -

प्राधिकरणका अनुसार सबैभन्दा धेरै शव चितवनमा फेला परेका छन् । चितवनमा ३६३, नवलपरासी पूर्वमा २२६, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा १९७, रसुवामा १७४, गोरखामा ७५, धादिङमा ७० र तनहुँमा ३८ जनाको शव फेला परेको छ। काठमाडौंमा उपचारका क्रममा रहेका दुई जनाको समेत मृत्यु भएको प्राधिकरणले जनाएको छ ।
हालसम्म १०२ वटा शवको सनाखत गरी आफन्तलाई बुझाइएको छ। सनाखत हुन बाँकी शवको पहिचानका लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा दुईवटा फोटो र नाता प्रमाणित हुने कागजातसहित नमुना दिन सकिने व्यवस्था गरिएको छ ।
५ हजारभन्दा बढी सम्पर्कविहीन
बाढी तथा अन्य विपद्का कारण करिब ५ हजार १३२ जना अझै सम्पर्कविहीन रहेको प्राधिकरणको विवरणमा उल्लेख छ । रसुवाबाट मात्रै २ हजार ८६० जना सम्पर्कविहीन छन् ।
रसुवामा सम्पर्कविहीन हुनेमा रसुवा जिल्लाका १ हजार ३९३, अन्य जिल्लाका १ हजार २८६, नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५, सशस्त्र प्रहरीका १२, सरकारी कर्मचारी ७३ तथा बैंक तथा वित्तीय संस्थाका २६ कर्मचारी रहेका छन् ।
यस्तै, नुवाकोटबाट १ हजार ७८७ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ । तीमध्ये नुवाकोटका ६५१ र रसुवाबाहेक अन्य जिल्लाका १ हजार १३६ जना छन् ।
प्राधिकरणका अनुसार करिब ५८७ जना विदेशी पर्यटकसमेत सम्पर्कविहीन छन्। सनाखत भएका शवको संख्या सम्पर्कविहीनको कुल संख्याबाट घटाइएको प्राधिकरणले जनाएको छ ।
१३ हजारभन्दा बढीको उद्धार
विपद् प्रभावित क्षेत्रबाट हालसम्म १३ हजार ६४६ जनाको उद्धार गरिएको छ। खोज, उद्धार तथा राहत कार्यमा सुरक्षा निकायका २१ हजार १८५ जना परिचालन भएका छन् ।
उद्धार तथा राहत कार्यमा नेपाल प्रहरीका ७ हजार ९७५, नेपाली सेनाका ९ हजार ७ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ जना सुरक्षाकर्मी खटिएका छन् ।
विभिन्न ३७ वटा होल्डिङ सेन्टरमा ३ हजार ६२८ जनालाई राखिएको छ। तीमध्ये रसुवामा ७३३, नुवाकोटमा २ हजार ६९९ र धादिङमा १९६ जना रहेका छन् ।
३२९ जनाको अस्पतालमा उपचार
विभिन्न १० वटा अस्पतालमा ३२९ जनाको उपचार गरिएको छ । उपचारपछि २५२ जना डिस्चार्ज भइसकेका छन् ।
यसैगरी, नेपाली सेनाले ३ हजार ५३५ जना तथा सशस्त्र प्रहरी बलले ३ हजार २८७ जनालाई उपचार सेवा प्रदान गरेको प्राधिकरणले जनाएको छ ।

















































