भरतपुर / नेपाली कांग्रेस चितवन क्षेत्र नं. २ को क्षेत्रीय सभापति पदका लागि मनोज रानाभाटले उम्मेदवारी घोषणा गरेका छन् । पार्टी संगठनलाई थप सुदृढ, व्यवस्थित र जनमुखी बनाउने प्रतिबद्धतासहित १५औँ महाधिवेशनमा क्षेत्रीय सभापतिमा उम्मेदवारी दिने निर्णय गरेका हुन् ।
‘अनुभव, नयाँ सोच र समर्पण’लाई राजनैतिक अभियानको मुख्य आधार बनाएका उनले कार्यकर्ताबीच समन्वय र सहकार्य बढाउँदै संगठनलाई वडा तहसम्म थप सक्रिय बनाउने र पार्टीलाई जनतासँग अझ नजिक जोड्ने योजनालाई प्राथमिकतामा राखेका छन् ।
- ADVERTISEMENT -

हाल भरतपुर महानगरपालिका वडा नं. २ का ध्यक्षसमेत रहेका रानाभाटले स्थानीय आवश्यकता पहिचान गरी विकासका पहल अघि बढाउँदै आएका छन् । उनको नेतृत्वमा वडा क्षेत्रमा रात्रिकालीन बजार सञ्चालनको पहलसमेत भएको थियो ।
पार्टीमा मात्र नभई जनप्रतिनिधिको रुपमा कार्यरत रहँदा रानाभाटले रात्रिकालीन बजारलाई स्थानीय अर्थतन्त्र र पर्यटन प्रवर्द्धनसँग जोड्ने, स्थानीय आवश्यकताका आधारमा नयाँ विकासका कामलाई प्राथमिकता दिने तथा पार्टी संगठनलाई वडा तहदेखि नै थप क्रियाशील बनाउने विषयलाई जोड दिएका छन् ।
उनले पार्टीभित्र कार्यकर्ताबीचको सम्बन्धलाई थप मजबुत बनाउँदै साझा उद्देश्यका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । त्यसका लागि उनले ‘सफल नेतृत्व, साझा लक्ष्य’ भन्ने नारालाई अघि सारेका छन् ।
चितवन क्षेत्र नं. २ को समग्र विकाससँगै नेपाली कांग्रेसको संगठनलाई थप व्यवस्थित, सक्रिय र जनतामुखी बनाउने आफ्नो लक्ष्य रहेको बताएका छन् । ‘समृद्ध भरतपुर, सक्षम नेतृत्व, क्षेत्र नं। २ को उज्ज्वल भविष्य’लाई उनले आफ्नो अभियानको मुख्य सन्देशका रूपमा प्रस्तुत गरेका छन् ।
नेपाली कांग्रेसले क्षेत्रीय सभापतिसहितका पदमा असोज १० गते उम्मेदवारी दर्ता र असोज ११ गते निर्वाचन गर्ने कार्यतालिका तय गरेको छ ।

















































