भरतपुर / लङ्गुरबुर्जा खेल्ने क्रम बढ्दै गएपछि चितवन प्रहरीले नियन्त्रण अभियानलाई तीव्र बनाएको छ । दसैँ र तिहारको बीचको अवधिलाई लक्षित गरी जिल्ला प्रहरी कार्यालय चितवनले सञ्चालन गरेको अभियानका क्रममा हालसम्म ठूलो परिमाणमा लङ्गुरबुर्जा खेल्न प्रयोग हुने सामग्री बरामद गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवन तथा मातहतका प्रहरी एकाइले सञ्चालन गरेको अभियानका क्रममा २ हजार ३३३ वटा गोटी, ५३६ वटा पाल र ४०८ वटा बाल्टिन नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रामेश्वर पौडेलका अनुसार लङ्गुरबुर्जा खेलिरहेको अवस्थामा दर्जनौँ व्यक्तिलाई नियन्त्रणमा लिइएको छ । उनीहरूलाई एक रात प्रहरी नियन्त्रणमा राखेर सम्झाइबुझाइ गरिएको र आगामी दिनमा यस्तो गतिविधिमा संलग्न नहुने प्रतिबद्धतासहित कागज गराएर अभिभावकको जिम्मा लगाइएको छ ।
एसपी पौडेलले लङ्गुरबुर्जामा जितहार हुने भएकाले यो जुवाकै एक स्वरूप भएको बताए । यस खेलमा अनावश्यक रूपमा पैसा खर्च हुने गरेको र विगतमा यसकै कारण झैझगडा तथा खुकुरी हानाहानसम्मका घटना हुने गरेको उनले उल्लेख गरे ।
- ADVERTISEMENT -

लङ्गुरबुर्जाका कारण विद्यार्थीको पढाइमा समेत नकारात्मक असर पर्न सक्ने भएकाले प्रहरीले यसको नियन्त्रणलाई प्राथमिकतामा राखेको जनाएको छ ।
लङ्गुरबुर्जालाई जुवा ऐनमा स्पष्ट रूपमा उल्लेख नगरिएकाले खेलमा प्रयोग हुने सामग्री नियन्त्रणमा लिने तथा खेलिरहेको अवस्थामा भेटिएकालाई नियन्त्रणमा लिएर सम्झाइबुझाइ गर्ने गरिएको एसपी पौडेलले बताए ।
तिहार नजिकिँदै गर्दा प्रहरीले लङ्गुरबुर्जा नियन्त्रणसँगै पटका पड्काउने, आतसबाजी गर्ने तथा अन्य अवाञ्छित गतिविधि रोक्न पनि निगरानी बढाएको छ । चाडपर्वलाई शान्तिपूर्ण र सुरक्षित बनाउन जिल्लाभर प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ ।















































