चितवन / पाठ्यपुस्तकमा पढेका तथा युट्युबलगायतका माध्यममा देखेका विषयलाई व्यवहारमा उतार्दै विद्यार्थीले तयार पारेका सिर्जनात्मक आविष्कार र प्रविधिमा आधारित परियोजना कार्यले अङ्कुरम् एकेडेमीको शैक्षिक प्रदर्शनीलाई आकर्षक बनाएका छन् ।
सामाजिक शिक्षा, विज्ञान तथा गणित विषयकेन्द्रित शैक्षिक प्रदर्शनी मेला–२०८३ मा विद्यार्थीले तयार पारेका दर्जनौँ सामग्री प्रदर्शन गरिएका थिए । विद्यालयको वार्षिक शैक्षिक क्यालेन्डर तथा अतिरिक्त क्रियाकलापअन्तर्गत आयोजित प्रदर्शनीको शुक्रबार अभिभावक, सञ्चारकर्मी तथा आमन्त्रित अतिथिहरूले अवलोकन गरेका थिए ।
प्रदर्शनीमा विद्यार्थीका सिर्जनात्मक सोच, प्राविधिक सीप र व्यावहारिक ज्ञान झल्काउने ‘लाइट कन्ट्रोल सिस्टम’, बाढीको पूर्वसूचना प्रणाली, होम अटोमेसन, ग्यास लिकेज डिटेक्टर, हाइड्रोपोनिक गार्डेनिङ, विभिन्न एप तथा कम्प्युटर गेमहरू मुख्य आकर्षण बनेका थिए ।
प्रदर्शनीमा सबैभन्दा बढी चासो पाएकोमध्ये एक थियो बाढीको पूर्वसूचना प्रणाली । स्थानीय सामग्री र प्रविधिको प्रयोग गरी अश्लेषा आचार्य र विभूति अधिकारीको समूहले तयार पारेको उक्त प्रणालीले भोटेकोशीमा आएको आकस्मिक बाढीको जोखिमलाई सचित्र प्रदर्शन गर्दै प्रविधिमार्फत कसरी पहिचान र न्यूनीकरण गर्न सकिन्छ भन्ने देखाएको थियो । नदीमा पानीको सतह बढेपछि साइरन बज्ने र मोबाइलमा सूचना प्राप्त हुने व्यवस्था गरिएको उक्त नमुनाले अवलोकनकर्तालाई आकर्षित गरेको थियो ।
- ADVERTISEMENT -


त्यस्तै, विद्यार्थीले विकास गरेका एप तथा कम्प्युटर गेमले पनि प्रदर्शनीमा छुट्टै रौनक थपेका थिए । माध्यमिक तहका विद्यार्थीले तयार पारेको ‘स्क्क्रयाच’ गेममा अवलोकनकर्ताले विशेष रुचि देखाएका थिए । गेम खेलाएर विद्यार्थीले केही रकमसमेत सङ्कलन गरेका थिए । विद्यार्थीको प्राविधिक सिर्जनशीलता र प्रविधिप्रतिको रुचि प्रशंसनीय रहेको शिक्षक सन्दीप चौधरीले बताए ।
गणितलाई कठिन विषयका रूपमा नभई रमाइलो र व्यावहारिक सिकाइका रूपमा प्रस्तुत गर्न अनम्याथ स्कुलसँगको सहकार्यमा गणितीय अन्तरक्रियासमेत आयोजना गरिएको थियो । त्यस क्रममा विद्यार्थीले प्रतिशत गणना तथा भिन्नसम्बन्धी विभिन्न विधि खेल र अभ्यासमार्फत सिकेका थिए । बालबालिकासँगै अभिभावकले पनि गणितीय गतिविधिमा सहभागी भएर सिकाइलाई थप रोचक बनाएका थिए ।
विद्यार्थीले तयार पारेको ‘हाइड्रोपोनिक गार्डेनिङ’ परियोजनाले पनि अभिभावकको ध्यान खिचेको थियो । माटोको प्रयोगबिना वा न्यून प्रयोगमा खेती गर्न सकिने यस विधिबारे विद्यार्थीले जानकारी दिँदै यसलाई सहज, टिकाउ र व्यावसायिकरूपमा लाभदायक बनाउन सकिने बताए । खाद्यान्न उत्पादनका साथै घर तथा कार्यालय सजावटमा समेत यसको प्रयोग गर्न सकिने उनीहरूको भनाइ थियो ।
घरबाहिरैबाट घरभित्रका विद्युतीय उपकरण नियन्त्रण गर्न सकिने ‘होम अटोमेसन सिस्टम’, भान्सामा ग्यास चुहावट भए–नभएको पत्ता लगाउने ‘ग्यास लिकेज डिटेक्टर’ र सौर्य ऊर्जा प्रणालीले पनि अवलोकनकर्ताको ध्यान आकर्षित गरेका थिए । विद्यार्थीले आफ्नै सीप र कल्पनाशक्तिको प्रयोगबाट दैनिक जीवनलाई सहज र सुरक्षित बनाउने प्रविधि विकास गर्न सक्ने उदाहरण यी परियोजनाले प्रस्तुत गरेका थिए ।
प्रदर्शनीमा विज्ञान र प्रविधिसँगै सामाजिक तथा सांस्कृतिक पक्षलाई पनि उत्तिकै महत्त्व दिइएको थियो । सामाजिक शिक्षाअन्तर्गत विभिन्न जातजातिका मौलिक भेषभूषा, परम्परागत परिकार, लाखेनाच र पुराना सिक्काहरू प्रदर्शन गरिएका थिए । नेपाली समाजको सांस्कृतिक विविधता र मौलिक पहिचान झल्काउने सामग्रीमा अभिभावकको विशेष चासो रहेको शिक्षक अर्जुन ओझाले जानकारी दिए ।
तिहारको सांस्कृतिक उल्लासलाई समेत प्रदर्शनीसँग जोड्दै रङ्गोली प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा प्रियल कोइराला, प्रिसा न्यौपाने, स्मृति श्रेष्ठ, दिपाली खतिवडा, आयुषा कुँवर र रीभा गुरुङको समूह उत्कृष्ट घोषित भएको थियो ।
यसैबीच, कक्षा ११ र १२ का विद्यार्थी सम्मिलित विद्यालयको ‘बिजनेस क्लब’ले तिहारलक्षित विभिन्न सामग्री उत्पादन गरी बिक्रीवितरण गरेको थियो । विद्यार्थीले आफ्नै सीप र मेहनतबाट तयार पारेका सामग्रीमध्ये मैनबत्तीको बिक्रीबाट राम्रो आम्दानी भएको क्लबकी अध्यक्ष युनिला खनियाँले जानकारी दिइन् । उत्पादन लागत कटाएर प्राप्त हुने नाफा कुनै अनाथालयलाई सहयोग गर्ने योजना रहेको उनले बताइन् ।
प्रदर्शनीले विद्यार्थीलाई किताबी ज्ञानमा मात्र सीमित नराखी अनुसन्धान, प्रयोग, सिर्जना, सहकार्य र उद्यमशीलतासँग जोड्ने प्रयास गरेको थियो । विज्ञान र प्रविधिदेखि गणित, सामाजिक चेतना तथा व्यावसायिक सीपसम्मका गतिविधिले विद्यार्थीको बहुआयामिक प्रतिभा उजागर गर्नुका साथै सिकाइलाई जीवनोपयोगी बनाउने सन्देश दिएको सहायक प्रधानाध्यापक प्रमोद थपलियाले जानकारी दिए ।















































