काठमाडौ / अमेरिकामा अचानक देशभरका सबै हवाई उडानमा रोक लगाइएको छ। सङ्घीय उड्डयन प्रशासन (एफएए)ले यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै आकस्मिक निर्णय लिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।
अचानक देशभरका सबै हवाई उडानमा रोक लगाउँदा करिब ७ हजार उडानहरू ढिला भएका छन् भने कैयौँ उडान रद्द गर्नुपरेको छ। उडान अवरुद्ध हुँदा न्युयोर्क, वासिङ्टन र क्यालिफोर्नियालगायत देशका विभिन्न प्रमुख सहरका विमानस्थलहरूमा हजारौँ यात्रुहरू अलपत्र परेको सीएनएनले जनाएको छ।
अमेरिकी यातायातमन्त्री सीन डफीकाअनुसार देशका २२ वटै एयर ट्राफिक कन्ट्रोल सेन्टरको सञ्चार प्रणालीमा प्राविधिक समस्या आएको छ। एफएएका प्राविधिक विशेषज्ञहरूको टोली खराबी पत्ता लगाउन र मर्मत गर्न युद्धस्तरमा जुटिरहेको उनले बताएको समाचारमा उल्लेख छ।
समाचार अनुसार उडान रोकिने क्रम शिकागोको ओ’हेयर र मिडवे विमानस्थलबाट भएको थियो, जहाँ सञ्चार प्रणालीमा गडबडी देखिएपछि उडान रोकिएको थियो। पछि यो समस्या देशका अन्य एयर ट्राफिक कन्ट्रोल सेन्टरहरूमा समेत फैलिएपछि पूरै अमेरिकामा ’ग्राउन्ड स्टप’ लगाइएको हो।
- ADVERTISEMENT -

एफएएको सूचनाअनुसार अर्को आदेश नभएसम्मका लागि उडानमाथिको प्रतिबन्ध जारी रहनेछ। अर्थात्, रोक कहिले हट्छ र उडान कहिले सामान्य हुन्छ भन्नेबारे अहिले नै केही भन्न सकिने अवस्था छैन। यस अवधिमा पहिले नै आकाशमा उडिरहेका विमानहरूलाई भने गन्तव्यमा अवतरण (ल्यान्ड) गर्न अनुमति दिइएको छस तिनीहरूलाई फिर्ता बोलाइएको छैन। तर, विमानस्थलमा रोकिएका कुनै पनि विमानले उडान भर्न पाउने छैनन्।
त्यस्तै, अन्य देशबाट अमेरिका आउँदै गरेका अन्तर्राष्ट्रिय उडानहरूको हकमा प्रत्येक उडानको अवस्था हेरेर छुट्टाछुट्टै निर्णय लिइने जनाइएको छ। उडान रोक्ने आदेश जारी भएको केही समयपछि एयर ट्राफिक कन्ट्रोलसम्बन्धी सूचना जारी हुने एफएएको वेबसाइटसमेत ठप्प भएको थियो।
एफएए अधिकारीहरूले सञ्चार प्रणालीमा आएको यो खराबीको सम्बन्ध हालै जडान गरिएको नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रणालीसँग छ कि छैन भनेर अनुसन्धान गरिरहेका छन्। उक्त एआई प्रणालीले एयर ट्राफिक कन्ट्रोलरलाई सम्भावित समस्याहरू पहिचान गर्न र विमानहरूको रुट परिवर्तन गर्न सुझाव दिने गर्छ।
अमेरिकी सरकारले एयर ट्राफिक कन्ट्रोलको पुरानो प्रविधि परिवर्तन गरिरहेको छ। जसअन्तर्गत पुराना तारहरूको सट्टा फाइबर अप्टिक केबल बिछ्याउने र रेडियो प्रणालीहरू फेर्ने काम भइरहेको छ। हालको अमेरिकी इतिहासमा देशभरका उडान एकैसाथ रोकिएको यो तेस्रो घटना हो। यसअघि ११ सेप्टेम्बर २००१ मा वल्र्ड ट्रेड सेन्टरमा भएको आतङ्कवादी आक्रमणपछि सबै विमानलाई जमिनमा ओराल्ने आदेश दिइएको थियो। त्यसपछि ११ जनवरी २०२३ मा एफएएको मुख्य कम्प्युटर प्रणाली (पाइलटलाई सुरक्षा चेतावनी दिने प्रणाली) ठप्प हुँदा करिब ९० मिनेटसम्म देशभरका उडान प्रभावित भएका थिए।















































