Opens in a new tab
२०८३ मंसिर ३, बुधबार
November 18, 2026
२०८३ मंसिर ३, बुधबार
November 18, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

जनप्रतिनिधिसामु नागरिकका प्रश्नैप्रश्न, शिक्षा र स्वास्थ्यदेखि भूमिसमस्यासम्मका गुनासा

प्रकाशित मिति : २०८३ मंसिर २ गते
AI

मकवानपुर / हेटौँडा उपमहानगरपालिका–१३ मा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीयले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, राजस्व, निकुञ्ज र भूमिहीनका समस्यासहित विभिन्न विषयमा जनप्रतिनिधिको ध्यानाकर्षण गराएका छन् ।

सोमबार आयोजित कार्यक्रममा सहभागीले वर्षौँदेखि समाधान हुन नसकेका स्थानीय समस्याबारे प्रश्न उठाउँदै विकास निर्माणका योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न र नागरिकका गुनासा सम्बोधन गर्न माग गरेका हुन् ।

स्थानीय अगुवा बगानसिं थिङले सार्वजनिक सुनुवाइ नागरिकका समस्या सम्बन्धित निकायसम्म पुर्‍याउने महत्त्वपूर्ण माध्यम भएको बताए । उनले वडाबाट सिफारिस भएका योजनामा आवश्यक बजेट विनियोजन गरी समयमै कार्यान्वयन गर्न आग्रह गरे । कर्मचारी अभाव वा ढिलासुस्तीका कारण विकास निर्माणका काम प्रभावित हुन नहुने उनको भनाइ थियो ।

उनले सडक निर्माणका क्रममा सडकको क्षेत्राधिकार र सीमाबारे नागरिकलाई स्पष्ट जानकारी गराउनुपर्ने तथा राजस्व सङ्कलनमा नागरिकलाई प्रोत्साहित गर्न वडा र उपमहानगरपालिका सक्रिय हुनुपर्ने धारणा राखे ।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रममा शिक्षा क्षेत्रका समस्या पनि उठाइए । तीनकुने टोल विकास संस्थाका सचिव जगनाथ पौडेलले विद्यार्थीको शैक्षिक गुणस्तर सुधारका लागि अभिभावकलाई समेत नैतिक तथा अभिभावक शिक्षा दिनुपर्ने बताए । कालिका आधारभूत विद्यालयका प्रधानाध्यापक रामकृष्ण न्यौपानेले विद्यालयमा शौचालयजस्ता आधारभूत सुविधा सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।

महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक विष्णु श्रेष्ठले निःशुल्क शिक्षाको नीति भए पनि विद्यालय सञ्चालनका लागि पर्याप्त स्रोतसाधन नहुँदा शुल्क लिनुपर्ने बाध्यता रहेको बताए । नीति र व्यवहारबीचको अन्तर हटाउन स्थानीय सरकारले सहजीकरण गर्नुपर्ने उनको माग थियो ।

सुन्दरबस्ती टोल विकास संस्थाका अध्यक्ष रामबहादुर वाइबाले विकास योजनाको छनोट गर्दा राजनीतिक पहुँच र नातासम्बन्धभन्दा आवश्यकतालाई प्राथमिकता दिनुपर्ने बताए । स्थानीय भीमबहादुर थिङले सडक पूर्वाधारका समस्या समाधान गर्न वडा र पालिकाले ध्यान दिनुपर्ने माग गरे ।

सार्वजनिक सुनुवाइमा निकुञ्जसँग जोडिएको जग्गा समस्या प्रमुख मुद्दाका रूपमा उठेको थियो । आधामार टोल विकास संस्थाका अध्यक्ष उमेश लामाले वर्षौँदेखि भोगचलन गर्दै आएको जग्गाको समस्या समाधान गरी स्थानीयलाई जग्गाधनी पुर्जा उपलब्ध गराउन माग गरे । उनले निकुञ्जको सीमाङ्कन स्पष्ट गर्न र स्थानीयको समस्यामा स्थानीय सरकारले पहल गर्नुपर्ने बताए ।

त्यस्तै, पदमपोखरीमा रहेको अस्पताललाई २४सै घण्टा सञ्चालन गर्नुपर्ने, सिमपानी–टुटेपानी जोड्ने झोलुङ्गे पुल निर्माण गर्नुपर्ने र कमेरोपानीमा एम्बुलेन्सको व्यवस्था गर्नुपर्ने माग पनि स्थानीयले राखेका थिए ।

स्थानीयका प्रश्नको जवाफ दिँदै उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले निकुञ्जसँग सम्बन्धित समस्या स्थानीय सरकारको प्रयासबाट मात्रै समाधान गर्न सम्भव नहुने बताए । ती समस्या कानुनी तथा सङ्घीय सरकारको क्षेत्राधिकारसँग जोडिएकाले सङ्घीय सरकारले आवश्यक निर्णय लिनुपर्ने उनको भनाइ थियो ।

उनले पदमपोखरी अस्पतालमा आवश्यक चिकित्सक र स्वास्थ्यकर्मीको व्यवस्थापनका लागि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत पहल भइरहेको जानकारी दिए । शिक्षा र स्वास्थ्य क्षेत्रमा भौतिक संरचना निर्माणसँगै सेवाको गुणस्तर सुधारमा पनि ध्यान दिनुपर्ने उनले बताए ।

नागरिकलाई जनप्रतिनिधिको कामप्रति खबरदारी गर्न आग्रह गर्दै बानियाँले भने, “जनप्रतिनिधिलाई खुसी बनाउन सधैँ राम्रो भनिरहनु पर्दैन । आवश्यक पर्दा खबरदारी गर्नुस्, प्रश्न गर्नुस् । जनप्रतिनिधिले कानुनसम्मत काम गर्नुपर्छ र नागरिकले पनि आफ्नो अधिकार तथा कर्तव्य बुझ्नुपर्छ ।”

वडाध्यक्ष पेम्बा लामाले नागरिकका माग सम्बोधन गर्न आफूहरूले प्रयास गरिरहेको बताए । योजनाको मागअनुसार बजेट विनियोजन गर्दा कतिपय अवस्थामा कार्यान्वयन हुन नसकी बजेट फ्रिज हुने समस्या रहेको उनले उल्लेख गरे । भूमिहीन तथा सुकुमवासीलाई जग्गाधनी पुर्जा उपलब्ध गराउने विषयमा निकुञ्जका कारण समस्या भइरहेको भन्दै उनले प्रमुख जिल्ला अधिकारी र उपमहानगरपालिकाका प्रमुखसँग छलफल भइरहेको जानकारी दिए ।

उनले वडामा विद्युत्, पर्यटन, सडक, शिक्षा, स्वास्थ्य र खेलकुदका क्षेत्रमा विकासका काम अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै स्थानीयसँग सहकार्य गरेर अघि बढ्ने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगरले वडा कार्यालय र उपमहानगरपालिकाबाट नागरिकले प्राप्त गर्ने सेवासम्बन्धी सर्वेक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । किरण थापाले पालिकाको योजना तथा बजेटबारे जानकारी गराएका थिए ।

कार्यक्रममा सूचना अधिकारी भानुभक्त थपलिया, विना थिके, सफल भुजेल, विवेकचन्द्र अधिकारी, वडा सदस्य, वडा सचिव, टोल विकास संस्थाका पदाधिकारी, विद्यालयका प्रतिनिधि, पत्रकार तथा स्थानीय सरोकारवालाको सहभागिता थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.98
150.58
European Euro
1
165.11
165.77
UK Pound Sterling
1
197.78
198.57
Swiss Franc
1
178.47
179.19
Australian Dollar
1
101.27
101.68
Canadian Dollar
1
104.99
105.41
Singapore Dollar
1
116.34
116.81
Japanese Yen
10
9.40
9.44
Chinese Yuan
1
22.50
22.59
Saudi Arabian Riyal
1
39.96
40.12
Qatari Riyal
1
41.15
41.31
Thai Baht
1
4.42
4.44
UAE Dirham
1
40.84
41.00
Malaysian Ringgit
1
36.63
36.77
South Korean Won
100
11.24
11.28
Swedish Kroner
1
14.88
14.94
Danish Kroner
1
22.09
22.17
Hong Kong Dollar
1
19.12
19.19
Kuwaity Dinar
1
485.69
487.63
Bahrain Dinar
1
397.61
399.20
Omani Rial
1
389.54
391.10