April 25, 2024

महानगरबाट विद्यालयको नाममा गएको पैसा हिनामिना

June 16, 2020

भरतपुुर, चितवन । भरतपुुर महानगरपालिका वडा नम्बर २५ मा रहेको प्रभात माविका प्रध्यानाध्यापक र महानगरको शिक्षा महाशाखाका प्रमुखको मिलेमोतोमा महानगरबाट विद्यालयको नाममा गएको बढी रकम दुरुपयोग गरेको पाइएको छ । महानगरको आर्थिक महाशाखाले दिएको जानकारी अनुसार विद्यालयमा जानु पर्ने २० लाख ८६ हजार ७ सय ४ रुपैंयामा ५३ लाख ९४ हजार ७ सय ४ रुपैंया गएको थियो । सो रकममा ३३ लाख ८ हजार ६ सय ८४ रुपैंया बढी गएको थियो ।
सो रकम विद्यालयमा बढी गएको भन्ने जानकारी पाएपछि शैक्षिक महाशाखाले वाणिज्य बैंकलाई पत्र काटी रोक्का गरेको थियो । रोक्का भएको रकम फुकुवाका लागि विद्यालयले गत पुष २४ गते पत्र पठाएको थियो । त्यही पत्रलाई आधार मानि शैक्षिक महाशाखाले विद्यालयको नाममा रोक्का रहेको रकम फुकुवाका लागि माघ ३ गते पत्र पठाएको थियो ।
सो पत्रका आधारमा बैंकले रकम फुकुवा गरेको भए पनि कहाँ के शिर्षकमा खर्च भयो भन्ने आधार छैन । आर्थिक महाशाखाका अनुसार बैंक खाता रोक्का गर्नका लागि चेकमा हस्ताक्षर हुने व्यक्तिले पत्र पठाउनु पर्ने र फुकुवाका लागि पनि सोही अनुसार गर्नु पर्ने हुन्छ ।
तर शैक्षिक प्रशासन महाशाखाका प्रमुखको चेकमा हस्ताक्षर नहुने भए पनि बिद्यालयको खातामा गएको बजेट रोक्का र फुकुवा गर्नु आफैँमा गलत देखिन्छ । विद्यालयका लागि गएको पठाइएको रकम ओजेटि र ल्याबका लागि रहेको र ३३ लाखको वजेट भने बिना शिर्षक अन्य भनी गएको पाइएको छ । यस विषयमा आर्थिक महाशाखाले विद्यालयलाई रकम फिर्ता गर्न भनिसकेको छ ।
तर विद्यालयका प्राचार्यले भने रकम जम्मा गर्नका लागि केही समय माग गर्दै आनाकानी गरिरहेका छन् । विद्यालयले रकम आएको जानकारी पाए पनि विद्यालय व्यवस्थापन समितिलाई कुनै जानकारी नभएको र पछि मात्रै थाहा पाएकको व्यवस्थापन समितिका एक सदस्यले जानकारी दिए ।
विद्यालयका पदेन सदस्य समेत रहनु भएका वडा अध्यक्षले जानकारी पाएसँगै यस विषयमा बिबाद सृजना भएको थियो । विद्यालयमा विभिन्न शिर्षकमा आएको वजेटको दुरुपयोग भएपछि आर्थिक महाशाखा ध्यान केन्द्रित गरेको छ । यस विषयमा विद्यालयका प्रध्यानाध्यापक होमनाथ भण्डारी भने विद्यालयमा धेरै पैसा आएको स्वीकार गर्छन् ।
विद्यालयमा पैसा आएको स्वीकार गरे पनि दुरुपयोग नगरेको र आर्थिक प्रशासन महाशाखाले फिर्ता गर भनेकाले फिर्ता गर्ने तयारीमा रहेको बताए । उहाँले सो रकम अन्य शिर्षकमा खर्च गरेको स्वीकार गर्छन् । यस विषयमा बुझ्न खोज्दा तत्कालीन शिक्षा महाशाखा प्रमुख सिताराम कोइराला सम्पर्कमा आउन चाहनु भएन ।
सो रकम २०७६ साल साउनमा निकासा भएको हो । निकासा भएको रकम शिक्षा महाशाखाले रोक्का गरेको थियो । शिक्षा महाशाखाका प्रमुख महेन्द्रप्रसाद पौडेलले यस विषयमा आफू पनि ढिला आएका कारण बुझ्न कठिन भएको बताए । बढी गएको रकम तत्काल फिर्ता गर्नका लागि गत शुक्रबार महाशाखाले विद्यालयलाई पत्राचार समेत गरिसकेको छ ।
भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले प्रध्यानाध्यापक रकम फिर्ता गर्न तयार भएको भन्दै खासै समस्या नरहेको बताए । गत असारमा रकम विद्यालयको खातामा गएको थियो । साउन ६ गते महाशाखाले पत्र पठाएर सो रकम रोक्का गरेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -