दाउन्नेमा बस दुर्घटना : तीनजनाको मृत्यु

0
27

नवलपरासी / नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित दाउन्नेमा शनिबार साँझ भएको बस दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा इलाम बस्ने २५ वर्षीया धनु दर्लामी, मकवानपुरको बकैयाँ गाउँपालिका वडा नम्वर ५ घर भई हाल विनयी त्रिवेणी गाउँपालिका–२ स्थित गुम्बामा बस्ने ५७ वर्षीया ज्यामो हिसे छमो ग्याल्मो र चितवन भरतपुर महानगरपालिका–२५ बस्ने ७२ वर्षीय हिमलाल न्यौपाने रहेका छन् ।
शनिबार साँझ नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा बुटवलबाट नारायणगढका लागि छुटेको ना ५ ख ७००० नम्बरको यात्रुबाहक बस आफैँ अनियन्त्रित भई सडकबाट दुई मिटर तल खसेर दुर्घटना हुँदा ३१ जना घाइते भएका थिए । तीमध्ये उनीहरुको उपचारको क्रममा राति मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, अन्य घाइतेको भने भरतपुर तथा नवलपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।