काठमाडौं / सरकारले सडक दुर्घटना तथा विपद्मा घाइते हुने नागरिकलाई प्रदेशस्तरमै सहज र गुणस्तरीय उपचार सेवा उपलब्ध गराउने उद्देश्यले सातै प्रदेशमा प्रादेशिक ट्रमा सेन्टर स्थापना गर्ने नीति अघि सारेको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले राष्ट्रिय ट्रमा सेन्टरको १३औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उपकरण, दक्ष जनशक्ति, विशेषज्ञ चिकित्सक टोली र प्रभावकारी व्यवस्थापनसहित ट्रमा सेन्टर स्थापना गरिने बताउनुभयो।
प्रादेशिक ट्रमा सेन्टर सञ्चालनमा आएपछि सामान्य तथा मध्यम प्रकृतिका चोटपटकको उपचार प्रदेशमै सम्भव हुने र बिरामीलाई अन्यत्र पठाउनुपर्ने अवस्थासमेत कम हुने उहाँको भनाइ थियो।
मन्त्री मेहताले दुर्घटनापछिको उपचारलाई प्रभावकारी बनाउन अस्पतालपूर्वको आकस्मिक सेवालाई प्राथमिकता दिइएको बताउनुभयो। सरकारले एम्बुलेन्स सेवा निर्देशिका, २०८२ लागू गरिसकेको जानकारी दिँदै उहाँले देशभर एउटै आकस्मिक नम्बर १०२ मार्फत सेवा उपलब्ध गराउन संघीय तथा सातै प्रदेशका स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रलाई २४ सै घण्टा सञ्चालनमा राखिएको बताउनुभयो।
- ADVERTISEMENT -

एम्बुलेन्सलाई सामान्य यातायातको साधनका रूपमा मात्र नभई आकस्मिक उपचार सेवासहितको सुविधायुक्त साधनका रूपमा विकास गर्ने सरकारको नीति रहेको उहाँले उल्लेख गर्नुभयो।
उहाँले ट्रमा उपचारलाई शल्यक्रिया र औषधिमा मात्र सीमित नराखी शारीरिक पुनर्स्थापना तथा मनोसामाजिक परामर्श सेवालाई पनि विस्तार गर्नुपर्नेमा जोड दिनुभयो। दुर्घटनापछि देखिन सक्ने शारीरिक अपाङ्गता र मानसिक समस्याको उपचारका लागि पुनर्स्थापना सेवालाई संस्थागत गर्ने सरकारको योजना रहेको उहाँले बताउनुभयो।
राष्ट्रिय ट्रमा सेन्टरको सेवा विस्तार र संस्थागत सुदृढीकरणका लागि मन्त्रालय सकारात्मक रहेको उल्लेख गर्दै मन्त्री मेहताले संगठन तथा व्यवस्थापन सर्वेक्षण ९ओएनएम० स्वीकृति र दरबन्दी व्यवस्थापनका विषय छिट्टै टुङ्ग्याइने जानकारी दिनुभयो।
विपद्, महामारी तथा सवारी दुर्घटनाका समयमा राष्ट्रिय ट्रमा सेन्टरले अग्रपङ्क्तिमा रहेर सेवा दिँदै आएको उल्लेख गर्दै उहाँले स्वदेशमै विशेषज्ञ उपचार सेवा विस्तार हुँदा उपचारका लागि विदेश जानुपर्ने बाध्यता कम हुने विश्वास व्यक्त गर्नुभयो। वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरबीचको सहकार्यलाई थप सुदृढ गर्दै ट्रमा उपचार सेवालाई प्रभावकारी बनाउन मन्त्रालय प्रतिबद्ध रहेको उहाँको भनाइ थियो।
















































