April 20, 2024

‘काम नगर्ने ठेकेदार, अपजस खेप्ने सरकार’ 

July 21, 2021

मकवानपुर / बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले निर्माण व्यवसायीको लापरबाहीको कारण प्रदेश सरकारले अपजस व्यहोर्नु परेको भन्दै दु:खेसो गरेका छन् ।
बुधबार हेटौंडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले निर्माण व्यवसायी कम्पनीले तोकिएको समयभित्र आफ्नो जिम्मेवारी पुरा नगर्दा त्यसको अपजस सरकारले खेप्नु परेको गुनासो गरे ।
‘यहाँ धेरै ठेकेदारहरुले पूर्वाधार निर्माणको काम अलपत्र पार्ने गरेका छन् । हामीले योजना बनाएकै छौँ । निर्माणको लागि ठेक्का सम्झौता गरेकै छौं । उनीहरु निर्माणको काम अलपत्र पारेर वेपत्ता हुन्छन् अनि जनताले सरकारले कामै गरेन भन्दै हामीमाथि नै आक्रोश पोख्ने गरेका छन् ।’ उनले भने ।
उनले सरकारको काम नीति निर्माण गर्ने, योजना बनाउने भएपनि ती योजनाको कार्यान्वयन गर्ने जिम्मा कर्मचारी, निर्माण व्यवसायी र सरोकारवाला निकायको भएको बताए ।
उनले हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ र १२ जोड्ने पुल शिलान्यास गरेको ७÷८ महिनामै करिब ६० प्रतिशत काम सम्पन्न भएको भन्दै ठेकेदार कम्पनीले त्यसबाट सिक्नुपर्ने बताए ।
यता, हेटौंडा ९ र १३ जोड्ने कुखरेनी खोलाको पुल विगत ८ बर्षदेखि अलपत्र अवस्थामा छाड्ने ठेकेदारका कारण प्रदेश सरकार गम्भीर समस्यामा पर्दै आएको उनको दु:खेसो छ ।
त्यस्तै प्रदेशसभा सचिवालयको सभाहल निर्माण सुरु गरेको बर्षदिन बितिसक्दा ठेकेदार कम्पनीकै कारण जगसमेत उठाउन नसकिएको उनको भनाई छ ।
सरकारले मात्रै चाहेर केही पनि नहुने भन्दै मुख्यमन्त्री पौडेलले सबै मुलुक समृद्ध बनाउन सबै राजनीतिक दल, क्षेत्र, सरोकारवाला निकाय र आम जनताको सहभागितामुलक सहयोग आवश्यक रहेको बताए ।

- ADVERTISEMENT -