भरतपुर अस्पतालमा कोरोना संक्रमितको डायलासिस

0
34

भरतपुर, चितवन / चितवन र आसपासका क्षेत्रका कोरोना संक्रमितको उपचार गर्दै आएको यहाँको भरतपुर अस्पतालले मृगौलाका बिरामीको डायलासिस समेत गर्न सुरु गरेको छ ।
नेपाल सरकारले कोभिड १९ को उपचारका लागि पहिलो र दोस्रो तहका बिरामीको उपचार गर्न भरतपुर अस्पताल र यसको मातहतमा रहेको भरतपुर कोरोना बिशेष (अस्थाई) अस्पताललाई तोकेको छ ।
भरतपुर अस्पतालका मृगौला रोग बिशेषज्ञ डा। सन्तोष गुरुङ्गका अनुसार एक जना संक्रमितको डायलासिस अस्पतालले गरिरहेको छ । ती बिरामी हेटौडा उपमहानगरपालिका वडा नम्बर ५ का ३३ वर्षिय पुरुष हुन ।
साउदीबाट फर्कीएका उनको तेस्रो पटक आज भरतपुर अस्पतालमा डायलासिस गरिएको छ । गुरुङ्गका अनुसार यस अघि असार १८ र १९ गते उनको भरतपुर अस्पतालमा डायलासिस गरिएको थियो । साउदीमा करिब २० पटक उनको डायलासिस भई सकेको उहाँले जानकारी दिनुभयो । अस्पतालले अन्य बिरामीका लागि दुई दिन डायलासिस नगर्ने गरि व्यवस्थापन मिलाएर डायलासिस गरिरहेको उहाँको भनाई छ ।
बुधबार राती १२ वजेबाट डायलासिस कक्ष अन्य बिरामीका लागि वन्द गरिएको छ । ती बिरामीको डायलासिस गरिए पछि त्यहाँको पूर्ण रुपमा निर्मलिकरण थालिएको छ । शुक्रबार बिहान ६ वजेबाट अन्य बिरामीको डायलासिस सुरु गरिने उहाँले जानकारी दिनुभयो । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा।
श्रीराम तिवारीका अनुसार डायलासिस गर्ने प्राबिधिकहरुले बिश्व स्वास्थ्य संगठनले जारी गरेको निर्देशकीकालाई पूर्ण रुपमा पालना गरि उच्च सतर्कताका साथ काम गरिरहेका छन् । हाल अस्पतालमा हरेक साता, सातामा दुई पटक र महिनाको एक पटक डायलासिस गर्ने १ सय ६ जना बिरामी रहेका छन् । उहाँले अस्पतालमा उपचार गर्न आउने संक्रमितहरुलाई देखिएका सबै खालका रोगको उपचार गर्न भरतपुर अस्पताल सक्षम भएकै कारण छिमेकि जिल्लाहरुबाट पनि बिरामी आउने गरेको बताउनुभयो । अस्पताल बिकास समितिका अध्यक्ष डा। भोजराज अधिकारीले पहिलो र दोस्रो तहका बिरामी हेर्ने जिम्मा भरतपुर अस्पताललाई दिईएको भए पनि तेस्रो तहका बिरामी पनि हेर्न बाध्य भएको बताउनुभयो । जिल्लाका अन्य अस्पतालमा संक्रमण देखिएर जटिल भएका बिरामी पनि भरतपुर पठाईने गरेको उहाँले बताउनुभयो । यहाँका दुई मेडिकल कलेजलाई पनि कोभिड उपचारमा सहभागी गराएमा बिरामी थप भएको अबस्थामा उपचारमा सहजता हुने उहाँको भनाई छ । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार हाल भरतपुर अस्पतालमा ३७ जना कोरोना संक्रमित उपचार गराई रहेका छन् । ३८ जनाले यसै अस्पतलामा उपचार पछि निको भएर फर्किएको उहाँले जानकारी दिनुभयो । दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ ।