चितवन । भरतपुरका गुरुङ समुदायलाई ‘सेर्गा नाच प्रशिक्षण’ दिइने भएको छ । तमु प्ये ल्हु संघ चितवनको बुधबार बसेको बैठकले ‘सेर्गा नाच प्रशिक्षण’ दिने निर्णय गरेको हो ।
सेर्गाको बारेमा बुझेको र विधि पुर्याएर कार्य गर्ने सेर्गा गुरुहरुबाट प्रशिक्षण दिइने संघका अध्यक्ष विक्रम च्हम्रु गुरुङले न्यूजप्रवाह डटकमलाई जानकारी दिए । परापूर्व कालदेखि गुरुङ समुदाय आफ्नो धर्म संस्कृतिलाई जोगाउन अर्घुम (कर्मकाण्ड) को समयमा सेर्गा नाच गर्दै आएको उनले बताए ।
- ADVERTISEMENT -

‘अहिलेको सेर्गा नाच आर्थिक लाभ र रमाइलोमा मात्र सिमित रहेर विकृति उन्मुख भएको छ’ उनले भने, ‘गुरुङको संस्कारलाई छुन नसकेको साथसाथै प्रभावकारी नभएकाले प्रशिक्षण दिन लागेका हौं ।’
पछिल्लो समय सेर्गा नाच वास्तविक धर्म र संस्कार अनुसार प्रक्रियागत ढंगबाट हुन नसकेको संघको बुझाइ छ । संघले विभिन्न समयमा गुरुङ समुदायको हकहित र संस्कृति जगेर्नाका गतिविधि गर्दै आएको उनले भने ।
- ADVERTISEMENT -

संघका अध्यक्ष गुरुङले इच्छुक व्यक्तित्वहरुलाई आह्वान गरेको छ भने प्रशिक्षण निःशुल्क गराइने जानकारी दिए ।











































