April 18, 2024

आजबाट चितवनमा निषेधाज्ञा खुकुलो, सवारी चेकजाँचमा कडाइ

September 17, 2020

चितवन / जिल्ला प्रशासन कार्यालय चितवनले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको निषेधाज्ञा करिब एक महिनापछि आज बिहीबारदेखि झनै खुकुलो बनाइएको छ ।
यसअघि साउन २८ गतेदेखि सुरु भएको निषेधाज्ञा पछिल्लो समय असोज १ देखि ७ गतेसम्म आइपुग्दा झनै खुकुलो पारिएको हो । विभिन्न संघ–संगठन तथा व्यवसायिक प्रतिष्ठानहरुको चौतर्फी विरोध, ज्ञापन–पत्र लगायत निम्न वर्गीय मानिसहरुमा पर्न गएको समस्याका कारण प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा झनै खुकुलो बनाइएको हो ।
प्रशासनबाट निषेधाज्ञा खुकुलो बनाएसँगै आजबाट छोटो तथा लामो दुरीका सार्वजनिक सवारी साधनहरु संचालनमा आएका छन् । जिल्लाभित्र गुड्ने सवारी साधनलाई जोर विजोर प्रणाली लागु गरेको छ । सडकमा सवारी साधन चलाउनेहरुको सख्या बढेको छ भने प्रहरीले चेकजाँजमा पनि कडाई गरेको छ ।
जोर गतेका दिन जोर नम्बरका र बिजोर गतेका बिजोर नम्बरका निजी तथा सार्वजनिक यात्रुबाहक सवारी साधनहरु चलाउन पाइने गरिएको छ । पहिलो दिन सुरक्षाकर्मीले चितवनका विभिन्न ठाउँमा कडा चेकजाच गरेका छन् । बिहान भरतपुरको वीरेन्द्र क्याम्पस अगाडि सबै प्रकारका सवारीसाधन रोक्दै पशासनको मापदण्ड नमान्ने मोटरसाइकल म्याजिक लगायतका सवारी साधनलाई कारवाही गरिएको छ ।
प्रशासनको सूचना अनुसार अनलाइन शिक्षा मात्र सञ्चालन गर्नुपर्ने, पर्यटकीय होटलहरुमा पर्यटन बोर्डले तोकेको मापदण्ड अनुसार पाहुना राख्न पाउने व्यवस्था मिलाइएको छ । अब जिल्लाभित्र निजी तथा सार्वजनिक सवारी साधन जोर बिजोर प्रणालीका आधारमा सञ्चालन गर्न पाइने छ । तर सार्वजनिक सवारी साधनको हकमा मापदण्ड तोकिएको छ ।
अटो रिक्सामा बढीमा २ जना, म्याजिक भ्यानमा ५ जना राखेर चलाउनु पर्ने छ भने बसमा पूरा सिटको आधामा मात्र यात्रु राख्नु पर्ने, यात्रु, चालक, सहचालकले अनिवार्य मास्क लगाउनु पर्ने, सवारीको ढोकामा स्यानिटाइजर राख्नु पर्ने सूचनामा उल्लेख गरिएको छ ।
आइसोलेसन, क्वारेन्टाइन, टेक अवे सञ्चालन गर्ने होटेल तथा रेस्टुरेन्टका कामदार, सार्वजनिक सवारीका चालक र सहचालकले महिनामा एक पटक पीसीआर परीक्षण गर्नु पर्ने छ । चितवनमा कोरोना भाइरस सङ्क्रमणको जोखिम कायमै रहेकाले परिवर्तित आदेश जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको सूचनामा असोज १ देखि ७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञामा परिमार्जन गरिएको हो ।

- ADVERTISEMENT -