नेपाली समाजमा सदिऔँदेखि जरा गाडेर बसेका रुढीग्रस्त आस्था र परम्परा अझै कायमै छन् । जसमध्ये एक हो– छाउगोठ । पछिल्लो समय छाउगोठका विरुद्ध सरकारी तथा गैरसरकारी संस्था, सामाजिक अगुवा, महिला अधिकारकर्मीलगायतले अभियानकै रुपमा काम गरिरहेका छन् । तर, महिनावारी (रजस्वला) हुँदा मूल घर छोडेर गोठमा बस्नुपर्ने नियतिको भने अन्त्य भइसकेको छैन । सरकारले छाउपडीजस्तो सामाजिक विभेदविरुद्ध सम्बन्धित जिल्ला प्रशासनमार्फत छाउगोठ भत्काउन निर्देशन दिएपश्चात् स्थानीय तहमा छाउगोठ भत्काउने अभियान जारी नै छ । विशेषगरी, सुदूरपश्चिमको दार्चुला र बैतडी बाहेकका जिल्ला अछाम, बाजुरा, बझाङ, डोटी, कैलाली र कञ्चनपुरमा अझैसम्म छाउपडी गोठ छन् । यस्तै, कर्णाली प्रदेशका सुर्खेत, दैलेख, सल्यान र जाजरकोटमा छाउपडी प्रथाले जरो गाडेको छ । बझाङमा छाउगोठमा बसेका महिलालाई सर्पले टोकेका घटना बढी छन् । बझाङमा छाउगोठ भत्किए पनि कुरीति भने कायमै छ । महिनावारी हुँदा बस्न बनाइएका गोठ÷छाप्राहरु भत्काइए पनि मानिसले आस्थापूर्वक मान्दै आएका कुप्रथाहरु भत्किन सकेका छैनन् ।
महिलाहरु छाउगोठमा बस्दा बलात्कृत हुनुपरेका दृष्टान्त पनि छन् । सर्पको टोकाइबाट ज्यान जाने, जीव, जनावरबाट पनि जोखिममा पर्ने र गोठमा निस्सासिएर मृत्यु भएका घटना पनि थुप्रै छन् । अहिले छाउगोठ भत्किएका ठाउँमा महिलाहरु खुला चौरमा रात बिताउन बाध्य भइरहेको खबर सार्वजनिक भएका छन् । चिसो मौसममा खुला चौर, पराल वा स्याउलाका भरमा रात कटाउनुलाई धर्म, परम्परा र आस्थासँग जोडेर हेर्ने प्रवृत्तिले कुरीतिका गोठहरु भत्किन सकेका छैनन् । हाम्रो समाजमा छाउपडीमात्र होइन, प्रथाका नाममा अमानवीय व्यवहारका घटनाहरुको पुनरावृत्ति हुँदै आएको छ । गरिबी र अशिक्षाको कारण पछाडि परेको समाजमा बोक्का–बोक्सीको नाममा प्रताडना दिने कार्य भइरहेका हुन्छन् । विशेषगरी, विपन्न, गरिब, असहाय र निर्धो व्यक्तिलाई बोक्सी करार गरेर समाजमा कथित उपल्लो वर्गले अमानवीय कृत्य गरिरहेका पाइन्छन् । यस्ता घटना अशिक्षित समाजमा बढी हुने भएकाले समाजलाई शिक्षित र सम्पन्न बनाउनु नै राज्यको पहिलो दायित्व हुन आउँछ । कुरीति र अन्धविश्वासले गाँजेको समाजमा दाइजो प्रथा अर्को समस्या हो । दाइजोका कारण महिलाहरुले विभिन्न प्रताडना, ज्यादती र दुव्र्यवहार भोग्नुपरेका, जिउँदै जल्नुपरेका, पासविकरुपमा हत्या गर्नेसम्मका कुकृत्य विद्यमान छन् ।
- ADVERTISEMENT -

पछिल्लो समय चेतनाको स्तर बढेसँगै कतिपय पहाडी गाउँमा छाउगोठ बाध्यकारी छैन । तर, मनमा छाउगोठ रहिरहँदा गोठ भत्किए पनि महिलाहरु खुला चौरमा बस्नु भनेको छाउ नबार्दा वा मूल घरमै बस्दा देउता रिसाउँछन् भन्ने भयका कारणले हो । मानिसलाई मनोवैज्ञानिकरुपमा त्रास देखाउने धामी, झाँक्री या पूजारीलाई यस्तो कुरीतिविरुद्ध प्रशिक्षित गर्नुपर्छ । अगुवाले जे बाटो देखायो पछिल्लो पुस्ताले त्यसकै सिको गर्ने हुन् । त्यसैले छाउप्रथालाई पुस्तान्तरण हुन नदिन शिक्षित महिलाहरुले यस्तो परम्पराको क्रमभङ्ग गर्नुपर्छ । गलत बुझाइ र चेतनाको कमीका कारण एक्काइसौँ शताव्दीमा आइपुग्दा पनि हामी पछाडि परिरहेका छौँ भन्ने तथ्य आत्मसात् नगरेसम्म मनका छाउगोठ कायमै रहने छन् । अब पनि कुनै पनि प्रकारको सामाजिक विभेद, छुवाछूत कायम रहनु भनेको आधुनिक समाजको सूचक होइन । शिक्षा र चेतनाको विकासबाटै आधुनिक समाजको कल्पना गर्न सकिन्छ । कुप्रथाको निरन्तरताले पश्चगामी भइन्छ । हामी विश्वसमुदायको तुलनामा पछाडि रहनुको कारण परम्पराको रुपमा अपनाइने कुप्रथा नै कारक हो । संसारमा दुई मात्र जात छन्, महिला र पुरुष । दुई मात्रै वर्ग छन् शिक्षित र अशिक्षित । त्यसैले शिक्षित र आधुनिक बन्नु छ भने समयअनुसार कुप्रथा र कुरीतिहरु परिवर्तन गर्दै लैजानु जरूरी देखिन्छ ।









































