काठमाडौं / साउदी अरेबियाको जेद्दाहमा सम्पन्न रोमाञ्चक ‘एल क्लासिको’ भिडन्तमा चिरपरिचित प्रतिद्वन्द्वी रियल म्याड्रिडलाई पराजित गर्दै क्याटलान क्लब बार्सिलोनाले स्पेनिस सुपर कपको उपाधि रक्षा गरेको छ । आइतबार राति भएको फाइनल खेलमा रियलमाथि ३–२ को रोमाञ्चक जित निकाल्दै बार्सिलोना लगातार दोस्रो पटक च्याम्पियन बनेको हो ।
यो ऐतिहासिक सफलतासँगै प्रशिक्षक हान्सी फ्लिकको नेतृत्वमा रहेको बार्सिलोनाले समग्रमा १६औँ पटक स्पेनिस सुपर कपको ट्रफी आफ्नो नाममा लेखाउन सफल भएको छ । गत वर्ष पनि बार्सिलोनाले फाइनलमा रियल म्याड्रिडलाई नै पाखा लगाउँदै उपाधि जितेको थियो ।
- ADVERTISEMENT -

खेलको ३६औँ मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफको अन्तिम समय ९इन्जुरी समय० दुवै टोलीका लागि निकै नाटकीय र रोमाञ्चक बन्यो । थप गरिएको समयको दोस्रो मिनेटमा भिनिसियस जुनियरले उत्कृष्ट गोल गर्दै खेललाई १(१ को बराबरीमा ल्याए । भिनिसियसले करिब १७ खेलको गोलविहीन यात्रालाई यसै खेलमार्फत पूर्णविराम लगाएका हुन् ।
तर, रियलको खुसी धेरै समय टिक्न सकेन । इन्जुरी समयकै चौथो मिनेटमा अनुभवी स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई पुनः २(१ को स्थितिमा पुर्याए । खेलमा उतारचढाव कायमै रहँदा इन्जुरी समयको छैटौँ मिनेटमा रियलका गोंजालो गार्सियाले गोल गरेपछि पहिलो हाफ २(२ को बराबरीमा टुङ्गिएको थियो ।
दोस्रो हाफमा दुवै टोलीले निकै सन्तुलित खेल पस्किएका थिए । खेलको ७३औँ मिनेटमा राफिन्हाले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ३(२ को अग्रता दिलाए, जुन अन्ततः टोलीको जितका लागि निर्णायक सावित भयो ।
खेलको अन्तिम क्षणतिर बार्सिलोनाका मिडफिल्डर फ्रेन्की डे योङले रियलका स्टार स्ट्राइकर किलियन एम्बाप्पेमाथि खराब फाउल गरेपछि रेफ्रीले उनलाई सिधै रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए । १० खेलाडीमा सीमित भए पनि बार्सिलोनाले बाँकी समयमा रियलको दबाबलाई चिर्दै जित सुनिश्चित गर्यो ।
यो जितसँगै बार्सिलोनाले सन् २०११ पछि पहिलो पटक लगातार दुई वर्ष स्पेनिस सुपर कप जित्ने कीर्तिमान समेत बनाएको छ । उपाधि होडमा रियल म्याड्रिडलाई लगातार दोस्रो पटक निराश बनाउँदै बार्सिलोनाले स्पेनिस फुटबलमा आफ्नो दबदबा कायम राखेको छ ।










































