काठमाडौं / रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी)ले आईपीएल २०२६ को फाइनलमा गुजरात टाइटन्सलाई पाँच विकेटले हराउँदै लगातार दोस्रो पटक उपाधि जितेको छ ।
अघिल्लो सिजनमा पञ्जाब किङ्सलाई हराउँदै पहिलो पटक च्याम्पियन बनेको आरसीबीले यसपटक पनि उपाधि जोगाउँदै नयाँ इतिहास रचेको हो ।
- ADVERTISEMENT -

आइतबार अहमदाबादस्थित नरेन्द्र मोदी रङ्गशालामा भएको फाइनल खेलमा गुजरातले टस हारेर पहिले ब्याटिङ गरेको थियो ।
टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५५ रन बनायो । गुजरातका लागि वासिङ्टन सुन्दरले उत्कृष्ट खेल प्रदर्शन गर्दै अविजित अर्धशतक बनाएर टोलीलाई सम्मानजनक योगफलसम्म पुर्याए ।
- ADVERTISEMENT -

१५६ रनको लक्ष्य पछ्याएको आरसीबीले सन्तुलित सुरुआत गर्यो । अनुभवी ब्याट्सम्यान विराट कोहलीले जिम्मेवार इनिङ्स खेल्दै अर्धशतक पूरा गरे र टोलीको जितको आधार तयार पारे। आरसीबीले १८ ओभरमा ५ विकेट गुमाएर १६१ रन बनाउँदै खेल जित्यो ।
आरसीबीले २०२५ मा आफ्नो पहिलो आईपीएल उपाधि जित्दै १८ वर्षको प्रतीक्षा अन्त्य गरेको थियो । त्यसपछि २०२६ मा लगातार दोस्रो पटक ट्रफी जित्दै टोलीले आफ्नो प्रभुत्व कायम राख्यो । आईपीएल इतिहासमा यो आरसीबीको दोस्रो उपाधि हो ।
आरसीबी आईपीएल इतिहासमा पाँचौँ पटक फाइनलमा पुगेको थियो । यसअघि टोलीले २००९, २०११, २०१६ र २०२५ मा फाइनल खेलेको थियो । २००९, २०११ र २०१६ मा हार बेहोरे पनि २०२५ मा पहिलो पटक च्याम्पियन बनेको टोलीले २०२६ मा पनि उपाधि जित्दै आफ्नो सुनौलो यात्रा जारी राख्यो ।








































