काठमाडौं / सिराहाको गोलबजार क्षेत्रमा साउन १४ गते भएको घटनामा ज्यान गुमाएका गणेश यादवका परिवार र नेपाल सरकारबीच ७ बुँदे सहमति भएको छ ।
शुक्रबार औरही गाउँपालिका–२, मोतिपुरमा मृतकका अभिभावक र गृह मन्त्रालयबीच भएको वार्तापछि सहमतिपत्रमा हस्ताक्षर गरिएको हो ।
- ADVERTISEMENT -

सहमतिअनुसार सरकारले मृतक गणेश यादवलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने तथा मृतकका परिवारलाई नेपाल सरकारका तर्फबाट रु. १० लाख राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।
त्यसैगरी, साउन १४ गते गोलबजार बजार क्षेत्रमा भएको घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि प्रचलित कानुनबमोजिम आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइने सहमतिमा उल्लेख छ।
- ADVERTISEMENT -

सहमतिअनुसार मृतक परिवारका एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराइनेछ । साथै, घटनाको अध्ययनका लागि गठित छानबिन समितिले पेश गर्ने प्रतिवेदनका सुझाव तथा सिफारिसहरू कानुनबमोजिम कार्यान्वयन गरिने सरकारको प्रतिबद्धता रहेको छ ।
यस्तै, मृतकको सम्झनामा स्थानीय सरकारसँगको समन्वयमा गाउँपालिकाको उपयुक्त स्थानमा स्मृति पार्क निर्माण गरिने र पार्कभित्र मृतकको शालिक स्थापना गरिने सहमति पनि भएको छ ।
सहमतिमा मृतकको अन्त्येष्टि गर्ने, मृतकका श्रीमती र बहिनीलाई उपयुक्त रोजगारी उपलब्ध गराउन पहल गर्ने तथा मृतकका बुवाको उपचारका लागि आवश्यक पहल गर्ने विषय पनि समावेश गरिएको छ ।
दुई पक्षबिचको सहमतिपछि सिरहा शान्त देखिएको छ ।



















































