काठमाडौं । भदौ १० गतेको भोटेकोशी बाढीबाट देशभर ७ हजार ५७० घर पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रारम्भिक आँकलन गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको ‘शीघ्र प्रारम्भिक क्षति तथा आवश्यकता आँकलन’ प्रतिवेदनले यस्तो तथ्याङ्क देखाएको हो ।
प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार क्षतिग्रस्त घरधुरीका आधारमा ३२ हजार ९३३ नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । सार्वजनिक गरिएको यो विवरण प्रारम्भिक प्रतिवेदन मात्र भएको र विस्तृत क्षति आकलन आउन बाँकी रहेको प्राधिकरणले स्पष्ट पारेको छ । बाढीका कारण सरकारी तथा सार्वजनिक संरचनामा समेत ठुलो क्षति पुगेको छ । प्रतिवेदनअनुसार ४८ वटा सरकारी संरचनामा क्षति पुगेको छ, जसमध्ये ३५ वटा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने १३ वटामा आंशिक क्षति पुगेको छ ।
- ADVERTISEMENT -

त्यसैगरी, शिक्षा क्षेत्रतर्फ १८ वटा विद्यालयमा क्षति पुगेको छ, जसमा ११ वटा पूर्ण र ७ वटा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । स्वास्थ्य क्षेत्रका ७ वटा संस्थाहरूमा क्षति पुगेको छ, जसमा ४ वटा पूर्ण र ३ वटा आंशिक छन् । भौतिक पूर्वाधारतर्फ ५५ किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।
त्यस्तै, ३७ वटा मोटरेबल पुल र ६८ वटा झोलुङ्गे पुलमा क्षति पुगेको प्रवक्ता महतले जानकारी दिइन् । कृषि क्षेत्रमा १ हजार ८०६ हेक्टर कृषियोग्य जमिनमा बाढीले क्षति पुर्याएको अनुमान गरिएको छ । यसबाट ७ हजार ६८६ मेट्रिक टन खाद्यान्न उत्पादनमा ह्रास आउने आँकलन गरिएको छ । प्रभावित पाँचवटै जिल्लामा पशु तथा कुखुरा पालन व्यवसायमा समेत ठुलो असर परेको छ ।
ऊर्जा र वित्तीय क्षेत्रमा पनि बाढीको गम्भीर प्रभाव देखिएको छ । बाढीका कारण ७८३ मेगावाट विद्युत् उत्पादन प्रभावित भएको छ । यसअन्तर्गत १३ वटा जलविद्युत आयोजना, एउटा सोलार प्लान्ट र दुईवटा प्रसारण लाइनमा क्षति पुगेको छ । यस्तै, प्रभावित क्षेत्रका १७ वटा बैंकका शाखाहरूमा समेत क्षति पुगेको प्राधिकरणले जनाएको छ ।















































