चितवन / पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानीमा सडक भासिँदा ठूला सवारीसाधनको आवागमन प्रभावित भएको छ ।
प्रहरीका अनुसार आज (शुक्रबार) बिहान करिब ६ः१५ बजे धारापानीस्थित पृथ्वी राजमार्गमा सडक थप भासिएको हो । सडक भासिएपछि साना सवारीसाधन तथा मोटरसाइकल भने सञ्चालन भइरहेका छन् भने ठूला सवारीसाधन पास हुन नसक्ने अवस्था रहेको छ ।
- ADVERTISEMENT -

उक्त स्थानमा यसअघि सडक भासिएपछि एकतर्फी (वान–वे) रूपमा सवारी सञ्चालन हुँदै आएकोमा पुनः सडक थप भासिएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा ट्राफिक प्रहरीसहितको प्रहरी टोली खटाइएको छ ।
यसैबीच, नारायणगढ–मुग्लिन सडकखण्डका विभिन्न स्थानमा सामान्य पहिरो तथा ढुंगामाटो खसेको छ । तुईनखोला, नाम्से पुल, १५ किलो र १७ किलो क्षेत्रमा सामान्य ढुंगामाटो सडकमा खसेको छ ।
हाल ती स्थानमा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध नभए पनि वर्षा तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै चालकलाई सावधानीपूर्वक यात्रा गर्न आग्रह गरिएको छ ।

















































