चितवन / नारायणी नदीमा आएको बाढीले बगाएर पुलको पिल्लरमा अड्किएको राइनो क्रुज सिप निकाल्ने काम आज (सोमबार) बिहानदेखि पुनः सुरु गरिएको छ । प्राविधिक टोलीले पुलमा कमभन्दा कम क्षति हुने गरी क्रुज सिप हटाउने तयारी गरेको हो ।
चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार बिहान १० बजेसम्म क्रुज सिप सुरक्षित रूपमा निकाल्ने लक्ष्यसहित काम भइरहेको छ ।
- ADVERTISEMENT -

‘‘प्राविधिकहरूसँग सल्लाह गरेर सबै तयारी गरेका छौं ।’ अर्यालले भने, ‘पुलको पिल्लरलाई कमभन्दा कम क्षति हुने गरी निकाल्ने तयारी भइरहेको छ ।’
क्रुज सिप निकाल्न क्रेन प्रयोग गर्ने तयारी गरिएको छ । क्रेनलाई घटनास्थलसम्म पुर्याउन हिजो (आइतबार) रातिसम्म दुईवटा एक्स्काभेटर प्रयोग गरेर बाटोसमेत बनाइएको थियो ।
घटनास्थलमा प्रमुख जिल्ला अधिकारी, सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख तथा इन्जिनियरहरूको टोली खटिएको छ ।
पुलमा लाइट सवारीलाई आवागमन खुला
राइनो क्रुज पुलको पिल्लरमा अड्किएपछि नारायणी पुलबाट सवारी आवागमन रोकिएको थियो । तर प्राविधिक टोलीको सुझावपछि आज बिहानदेखि अत्यधिक भार बोकेका सवारीसाधनबाहेक अन्य सवारीलाई आवागमन गर्न दिइएको छ ।
भारी सवारीसाधनलाई भने पुलमा दोहोरो रूपमा सञ्चालन नगर्ने गरी नियन्त्रित आवागमनको व्यवस्था गरिएको छ ।
यसअघि पूर्वी नवलपरासीको गैँडाकोट क्षेत्रमा रुखमा बाँधेर राखिएको राइनो क्रुज नारायणी नदीमा आएको बाढीले बगाएको थियो । बाढीले बगाएको क्रुज पुलको पिल्लरमा अड्किएपछि पुलमा यातायात प्रभावित भएको थियो ।

















































