भरतपुरका तामाङ समुदाय सोनाम ल्होछार मनाउँदै

0
829

भरतपुर । भरतपुर नगर तामाङ समाजले मञ्जुश्री सम्वत् २८५६औं सोनाम ल्होछार मनाउने भएको छ । भरतपुर–११, भोजाडमा रहेको छेच्यु थर्पलिङ गुम्बामा माघ ११ गते सोनाम ल्होछार मनाउन लागिएको समाजका अध्यक्ष गंगालाल तामाङले सोमबार पत्रकार भेटघाटमा बताए ।
चन्द्र पात्रो अनुसार माघको शुक्ल पक्ष प्रतिपदा पर्ने सोनाम ल्होछार पर्वमा बँदेल वर्गको विदाई गर्दै मुसा वर्गलाई स्वागत गरी धुमधामसँग मनाइने समाजका अध्यक्ष तामाङले बताए ।
नेपाल तामाङ घेदुङ चितवनका अध्यक्ष एवम् नेपाल तामाङ बाग्मती प्रदेशका उपाध्यक्ष श्री गोपीराज घलानको प्रमुख आतिथ्यतामा संचालन हुने कार्यक्रममा शुभकामना आदानप्रदान साथै राष्ट्रिय सेलो गायक आश्मान लोप्चन, राष्ट्रिय गायक प्रकाश तामाङ र नवगायिका शशीकला स्याङतानलगायतको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
ल्होछार कार्यक्रममा २७० घरधुरी तामाङ समुदाय सहभागी हुने करिब ३ लाख खर्च हुने समाजका महासचिव सूर्यप्रकाश लामाले बताए ।
ल्होछारमा दुधपोखरी बौद्ध तामाङ समाज भरतपुर–११, तामाङ आमा समूह भरतपुर–१०, कमलनगर तामाङ आमा समूह भरतपुर–३, पाख्रिन तामाङ समाज गुठी भरतपुर, गोले गुठी योञ्जन गुठी भरतपुर, ल लुङ्बा तामाङ गुठी भरतपुरको सहभागिता रहने महासचिव लामाले बताए ।