काठमाडौं / पश्चिमी वायुको आंशिक प्रभावका कारण आगामी तीन दिन देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहने भएको छ । केही स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार तराईका भू–भाग, काठमाडौं उपत्यका तथा खोँचहरूमा बिहानको समयमा हुस्सु र कुहिरो लाग्ने सम्भावना छ । यसले दैनिक जनजीवनसँगै सडक तथा हवाई यातायातमा सामान्य असर पार्न सक्ने अनुमान गरिएको छ ।
बुधबार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै भू–भागमा आंशिक बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा पनि आंशिक बादल लाग्ने पूर्वानुमान छ । कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्नेछ ।
बुधबार राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । तराई, उपत्यका तथा खोँचका केही स्थानमा बिहानपख हुस्सु र कुहिरो लाग्न सक्नेछ ।
- ADVERTISEMENT -

त्यस्तै, बिहीबार देशका हिमाली तथा पहाडी भू–भागका साथै कोशी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । बिहीबार राति कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान छ ।
शुक्रबार र शनिबार पनि देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने तराईका क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
शुक्रबार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ । शनिबार पनि हिमाली तथा पहाडी भू(भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।














































