चितवन / नारायणगढस्थित नारायणी नदी किनारमा जारी ‘नारायणी महोत्सव–२०८३’ मा दर्शकको आकर्षण बढ्दै गएको छ । महोत्सव सुरु भएको दोस्रो दिन शुक्रबार मात्रै १६ हजारभन्दा बढी दर्शकले अवलोकन गरेको आयोजकले जनाएको छ ।
रेड रक इभेन्ट्स एण्ड म्यानेजमेन्ट प्रा.लि.का अध्यक्ष तथा महोत्सव संयोजक विक्कल क्षेत्रीका अनुसार महोत्सवमा नयाँ आकर्षण थपिएसँगै दर्शकको उत्साहजनक सहभागिता देखिएको हो । विशेषगरी महोत्सवको प्रवेशद्वारमा निर्माण गरिएको आकर्षक पिरामिड शैलीको गेट दर्शकको रोजाइमा परेको छ । गेटमा फोटो तथा भिडियो खिच्नेहरूको भीड लाग्ने गरेको उनले बताए ।
महोत्सवको अर्को मुख्य आकर्षण हट एयर बेलुन बनेको छ । यसबाट नारायणी नदी किनार र आसपासको प्राकृतिक सुन्दरता आकाशबाट नियाल्न सकिन्छ । त्यस्तै, जिरो ग्र्याभिटी राइडसहित बालबालिका, युवा तथा परिवारका सबै उमेर समूहलाई लक्षित विभिन्न मनोरञ्जनात्मक खेल तथा राइड सञ्चालनमा छन् ।
सांस्कृतिक कार्यक्रमले पनि महोत्सवमा रौनक थपेको छ । दोस्रो दिन कलाकारद्वय अनु थापामगर र कुशल बेलवासेको सांगीतिक प्रस्तुतिमा दर्शक झुमेका थिए । स्थानीय कलाकारहरूको प्रस्तुतिले समेत दर्शकलाई मनोरञ्जन दिएको थियो । दर्शकको रुचि र इच्छालाई समेत ध्यानमा राख्दै स्टेजमा आएर प्रस्तुति दिन सक्ने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।
- ADVERTISEMENT -


महोत्सवका सांस्कृतिक कार्यक्रम संयोजक राजेश भुजेलले शनिबार र आइतबार सार्वजनिक बिदा परेकाले दर्शकको उपस्थिति अझै बढ्ने अपेक्षा गरिएको बताए । बिदाका दिनलाई लक्षित गरी महोत्सवमा थप उत्साहजनक सहभागिता रहने आयोजकको विश्वास छ ।
रेड रक इभेन्ट्स एण्ड म्यानेजमेन्ट प्रा.लि.को आयोजनामा सञ्चालित महोत्सवमा नेपाल आदिवासी जनजाति महासंघ चितवन सह–आयोजकका रूपमा रहेको छ ।

















































