चितवन / नारायणी नदी किनारमा जारी दोस्रो ‘नारायणी महोत्सव–२०८३’ मा आज (शनिबार) राष्ट्रिय कलाकारहरूको सांगीतिक तथा मनोरञ्जनात्मक प्रस्तुति रहने भएको छ ।
महोत्सवका सांस्कृतिक कार्यक्रम संयोजक राजेश भुजेलका अनुसार आज निश्चल दवाडी, सम्झना रनपाल, जीवन सिग्देल, टीका जैसी र जादुगर बलरामले दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन् । आजको मुख्य आकर्षणका रूपमा निश्चल दवाडी र सम्झना रनपालको सांगीतिक प्रस्तुति रहने महोत्सवका सह–संयोजक सागर कुमालले जानकारी दिए ।
त्यस्तै, नारायणी कला मन्दिर नारायणगढको विशेष प्रस्तुति रहनेछ भने आदिवासी जनजातिका मौलिक कला, संस्कृति र परम्परा झल्कने सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिनेछ ।
रेड रक इभेन्ट्स एण्ड म्यानेजमेन्ट प्रालिको आयोजना तथा आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् चितवनको सह–आयोजनामा सञ्चालित महोत्सवमा दैनिक साँझ ५ बजेदेखि राति ९ बजेसम्म सांगीतिक कार्यक्रम हुँदै आएको छ ।
- ADVERTISEMENT -

महोत्सवमा सांगीतिक प्रस्तुतिसँगै पिरामिड शैलीको आकर्षक प्रवेशद्वार, हट एयर बेलुन र जिरो ग्र्याभिटी राइडलगायतका मनोरञ्जनात्मक आकर्षणले दर्शकको ध्यान खिचिरहेका छन् । बालबालिका, युवा तथा परिवारलाई लक्षित विभिन्न खेल तथा मनोरञ्जनका गतिविधिले पनि महोत्सवलाई थप आकर्षक बनाएका छन् ।
त्यसैगरी, महोत्सव परिसरमा व्यापारिक स्टल, स्थानीय उत्पादन, हस्तकला, घरेलु तथा साना उद्योगका सामग्री, होटल तथा रेस्टुरेन्ट र विभिन्न स्वादका खानाका परिकार राखिएका छन् ।

















































