चितवन / नारायणी नदी किनारमा जारी दोस्रो ‘नारायणी महोत्सव–२०८३’ मा आज (बिहीबार) दुई चर्चित राष्ट्रिय कलाकारले सांगीतिक प्रस्तुति दिने भएका छन् । महोत्सवमा गायिका बबिना किराँती र गायक सुरेश अन्जानले आफ्ना लोकप्रिय गीतमार्फत दर्शकलाई मनोरञ्जन दिनेछन् ।
महोत्सवका सांस्कृतिक कार्यक्रम संयोजक राजेश भुजेलका अनुसार बबिना र सुरेशको विशेष प्रस्तुति रहनेछ । दर्शकमाझ लोकप्रिय यी दुवै कलाकारको प्रस्तुतिले महोत्सवस्थलमा थप उत्साह र रौनक ल्याउने अपेक्षा गरिएको छ ।
आफ्ना चर्चित गीतमार्फत दर्शकको मन जित्न सफल कलाकारद्वयको प्रस्तुति हेर्न महोत्सवमा दर्शकको उल्लेख्य उपस्थिति रहने आयोजकको अपेक्षा छ । विशेषगरी युवा पुस्तामाझ लोकप्रिय कलाकारको सांगीतिक प्रस्तुतिले जाडो मौसममा समेत महोत्सवको माहोल तताउने विश्वास गरिएको छ ।
महोत्सवमा दिनहुँ राष्ट्रिय कलाकारले सांगीतिक प्रस्तुति दिँदै आएका छन् । राष्ट्रिय कलाकारका प्रस्तुतिसँगै नारायणी कला मन्दिर नारायणगढका कलाकार तथा विभिन्न आदिवासी जनजातिका मौलिक सांस्कृतिक कार्यक्रमले पनि दर्शकलाई आकर्षित गरिरहेका छन् ।
- ADVERTISEMENT -

महोत्सव परिसरमा विभिन्न व्यापारिक स्टलका साथै बाल उद्यान, जिरो ग्र्याभिटी राइड, ३६० डिग्री राइड र आकर्षक पिरामिड गेट आगन्तुकका थप आकर्षण बनेका छन् ।
रेड रक इभेन्ट्स एण्ड म्यानेजमेन्ट प्रा।लि।को आयोजना तथा नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला परिषद् चितवनको सहआयोजनामा मंसिर ३ गतेदेखि सुरु भएको महोत्सव मंसिर १८ गतेसम्म सञ्चालन हुनेछ ।
आयोजकले महोत्सवमा सहभागी भई सांगीतिक तथा सांस्कृतिक कार्यक्रमको मनोरञ्जन लिन चितवनसहित आसपासका जिल्लाका दर्शकलाई आग्रह गरेको छ ।
















































