चितवन / नारायणी नदी किनारमा जारी ‘दोस्रो नारायणी महोत्सव २०८३’ मा शनिबार ‘बर्दियाको बाघ’ उपनामले परिचित लोकप्रिय गायक कमल बि.सी. (माइलादाइ) ले स्टेजमा तहल्का मच्चाएका छन् । सार्वजनिक बिदाको दिन परेकाले महोत्सव परिसरमा बिहानैदेखि दर्शकको बाक्लो उपस्थिति रहेको थियो भने दिउँसो बि.सी. मञ्चमा उक्लिएसँगै माहोल झनै तातेको थियो ।
मञ्चको चारैतिर खचाखच भरिएका दर्शकबीच उनले आफ्ना चर्चित देउडा, टप्पा तथा पश्चिम नेपालका मौलिक भाकाहरू पस्किँदा युवापुस्तादेखि वृद्धवृद्धासम्म छमछमी नाचेका थिए । गीतसँगै उनको जोशिलो प्रस्तुति र मञ्चीय हाउभाउले दर्शकदीर्घामा निकै उत्साह थपेको थियो ।
प्रस्तुतिकै क्रममा बि.सी. ले करिब आधा दर्जन चश्मा दर्शकको भीडमा उपहारस्वरूप फ्याँकिदिँदा समात्ने होडबाजी नै चलेको थियो । साथै, मञ्चबाट गरिएको चकलेटको वर्षाले बालबालिकादेखि युवायुवतीसम्मलाई निकै रमाइलो अनुभूति दिलायो । शनिबारको प्रस्तुति महोत्सव सुरु भएयताकै भव्य बनेको दर्शकहरूले प्रतिक्रिया दिएका छन् । मुख्य मञ्च अगाडि मात्र नभई सिंगो महोत्सव परिसर नै भरिभराउ देखिएको थियो ।
प्रस्तुति सकिएपछि उनीसँग सेल्फी खिच्ने र फोटो लिने दर्शकहरूको लामो लर्को लागेको थियो । दर्शकको अत्यधिक क्रेज र स्टेज आसपासको भिडलाई सम्हाल्न आयोजक तथा स्वयंसेवकहरूलाई समेत हम्मेहम्मे परेको थियो ।
- ADVERTISEMENT -

शनिबारकै सांस्कृतिक कार्यक्रममा लोक तथा दोहोरी क्षेत्रका चर्चित कलाकारद्वय बिन्दा परियार र भुवन अधिकारीले पनि दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गरे । सुमधुर स्वरकी धनी गायिका बिन्दा परियारले आफ्ना लोकप्रिय लोक तथा दोहोरी गीतमार्फत दर्शकलाई नचाइन् भने गायक भुवन अधिकारीले चर्चित भाकामार्फत उपस्थित दर्शकलाई झुमाएका थिए । बिदाको दिन भएकाले अपेक्षा गरेभन्दा बढी दर्शकको सहभागिताले महोत्सवको रौनक भव्य बनेको सांस्कृतिक कार्यक्रम संयोजक राजेश भुजेलले बताए ।

महोत्सवमा दैनिकजसो नारायणी कला मन्दिर नारायणगढका प्रस्तुति तथा आदिवासी जनजाति समुदायका मौलिक सांस्कृतिक झाँकी र नृत्यहरू प्रस्तुत भइरहेका छन् । साथमा दिनहुँ राष्ट्रिय स्तरका कलाकारहरूको सांगीतिक प्रस्तुतिले आकर्षण थप बढाएको छ ।
महोत्सव परिसरमा रहेका व्यावसायिक, कृषि तथा हस्तकलाका स्टलहरूका साथै बाल उद्यान, जिरो ग्र्याभिटी राइड, ३६० डिग्री राइड र आकर्षक पिरामिड गेटले आगन्तुकहरूको विशेष ध्यान तानेको छ । शनिबार राइड खेल्ने, विभिन्न परिकारको स्वाद लिने र किनमेल गर्नेहरूको पनि उस्तै घुइँचो लागेको थियो ।
रेड रक इभेन्ट एण्ड म्यानेजमेन्टको आयोजना तथा नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला परिषद् चितवनको सहआयोजनामा गत मंसिर ३ गतेदेखि सुरु भएको महोत्सव आगामी मंसिर १८ गतेसम्म सञ्चालन हुनेछ ।
महोत्सवलाई भरतपुरको पर्यटन प्रवर्द्धन, स्थानीय व्यापार र समग्र आर्थिक गतिविधिको विकाससँग जोडिएको साझा उपलब्धिका रूपमा लिएको आयोजकले जनाएको छ । आगामी दिनमा अझै आकर्षक प्रस्तुतिहरू रहने जानकारी दिँदै महोत्सव अवलोकनका लागि सम्पूर्ण चितवनवासी तथा छिमेकी जिल्लाका बासिन्दालाई आयोजकले आग्रह गरेको छ ।















































