चितवन / नारायणी नदी किनारमा जारी ‘दोस्रो नारायणी महोत्सव २०८३’ मा आज शनिबार तीन जना राष्ट्रिय चर्चित कलाकारहरूले विशेष सांगीतिक प्रस्तुति दिँदैछन् ।
महोत्सवका सांस्कृतिक कार्यक्रम संयोजक राजेश भुजेलका अनुसार राष्ट्रिय लोक तथा दोहोरी क्षेत्रका चर्चित कलाकारत्रय कमल बि.सी. (माईलादाई – बर्दियाको बाघ), बिन्दा परियार र भुवन अधिकारीले दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गर्नेछन् । आज बिदाको दिन परेकाले महोत्सव अवलोकन गर्न तथा कलाकारहरूको प्रस्तुति हेर्न दर्शकहरूको उल्लेख्य सहभागिता रहने अनुमान आयोजकको छ ।
विशेषगरी देउडा, टप्पा तथा पश्चिम नेपालका मौलिक भाकामा जमेका र ‘बर्दियाको बाघ’ उपनामले परिचित गायक कमल बि.सी. (माईलादाई) ले आफ्ना जोशिला गीत र रमाइलो प्रस्तुतिले महोत्सवको माहोल तताउनेछन् । त्यस्तै, सुमधुर स्वरकी धनी चर्चित गायिका बिन्दा परियारले आफ्ना लोकप्रिय लोक तथा दोहोरी गीतमार्फत दर्शकलाई नचाउनेछिन् भने गायक भुवन अधिकारीले आफ्ना चर्चित भाका र प्रस्तुतिले उपस्थित दर्शकलाई झुमाउने अपेक्षा गरिएको छ ।
महोत्सवमा दैनिकजसो नारायणी कला मन्दिर नारायणगढका विभिन्न प्रस्तुति तथा आदिवासी जनजाति समुदायका मौलिक सांस्कृतिक झाँकी र नृत्यहरूसमेत प्रस्तुत भइरहेका छन् । साथमा दिनहुँ राष्ट्रिय स्तरका कलाकारहरूको सांगीतिक प्रस्तुतिले महोत्सवको रौनक थप बढाएको छ ।
- ADVERTISEMENT -

महोत्सव परिसरमा रहेका विभिन्न व्यावसायिक स्टलहरूका साथै बाल उद्यान, जिरो ग्र्याभिटि राइड, ३६० डिग्री राइड र आकर्षक पिरामिड गेटले आगन्तुकहरूको विशेष ध्यान तानेको छ ।
रेड रक इभेन्ट एण्ड म्यानेजमेन्टको आयोजना तथा नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला परिषद् चितवनको सहआयोजनामा गत मंसिर ३ गतेदेखि सुरु भएको दोस्रो नारायणी महोत्सव २०८३ आगामी मंसिर १८ गतेसम्म सञ्चालन हुनेछ ।
विगतको बाढीका कारण कुरूप र बिजोग अवस्थामा पुगेको नारायणी नदी किनारलाई आयोजकले आफ्नै लगानीमा सम्याएर व्यवस्थित बनाउँदै महोत्सव सुरु गरेको हो । महोत्सवको सफलतालाई संस्थागत सफलतामा मात्र सीमित नराखी भरतपुरको पर्यटन, व्यापार, मनोरञ्जन र समग्र आर्थिक गतिविधिको विकाससँग जोडिएको साझा उपलब्धिका रूपमा लिएको आयोजकले जनाएको छ । महोत्सवमा सहभागी भई भव्य रूपमा सफल पारिदिन सम्पूर्ण चितवनवासीलाई आग्रह समेत गरिएको छ ।

















































