चितवन / नारायणी नदी किनारमा जारी दोस्रो ‘नारायणी महोत्सव–२०८३’ मा शुक्रबार चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारी र कलाकार गोर्खे राजाको सांगीतिक प्रस्तुतिले महोत्सवस्थल गुञ्जायमान बनेको छ ।
लोक तथा दोहोरी संगीतमा छुट्टै पहिचान बनाएका खुमन अधिकारीले आफ्ना लोकप्रिय गीतमार्फत दर्शकलाई भरपूर मनोरञ्जन दिलाए । उनले ‘चोली ढाकाले’, ‘रोजेको फूल’, ‘फोन उठाउन सानु’ लगायत दर्जनौँ चर्चित गीत प्रस्तुत गर्दा दर्शक नाच्दै र गाउँदै साथ दिएका थिए ।
उनको प्रस्तुतिमा युवा पुस्तादेखि ज्येष्ठ नागरिकसम्मको उत्साहपूर्ण सहभागिता देखिएको थियो । युवाहरू गीतको तालमा झुमिरहेका थिए भने छ दशक उमेर पार गरेका दर्शकसमेत सिटी बजाउँदै र गीत गाउँदै अधिकारीलाई साथ दिइरहेका थिए ।
विशेषगरी ‘ए मेरी प्राण प्यारी, जाँडभन्दा बढी तिम्रो माया लाग्छ’ र ‘बेहुला बनाउँछु भन्थ्यौ, बहुला बनाएर गयौ’ लगायतका गीतमा दर्शकले उत्साहजनक साथ दिएका थिए । गीतसँगै दर्शकको नाचगान र हुटिङले महोत्सवस्थलको माहोल थप रोमाञ्चक बनेको थियो ।
- ADVERTISEMENT -

त्यस्तै, गायक गोर्खे राजाको प्रस्तुतिले पनि महोत्सवमा थप रौनकता थप्यो । आफ्ना कलाकारिता मार्फत उनले दर्शकसँग आत्मीयता बढाउँदै सांगीतिक माहोललाई थप तताएका थिए ।
समग्रमा शुक्रबारको सांस्कृतिक कार्यक्रम उमेर समूहको सीमा तोड्दै सबै पुस्तालाई एकैसाथ मनोरञ्जन प्रदान गर्न सफल भएको पाइएको थियो ।
महोत्सवका कार्यक्रम सह–संयोजक सागर कुमालका अनुसार राष्ट्रिय कलाकारहरूको सांगीतिक प्रस्तुतिमा दर्शकको आकर्षण दिनप्रतिदिन बढ्दै गएको छ ।
महोत्सवमा दिनहुँ राष्ट्रिय कलाकारहरूको प्रस्तुति हुँदै आएको छ । सांगीतिक कार्यक्रमसँगै विभिन्न सांस्कृतिक प्रस्तुति तथा आदिवासी जनजातिका मौलिक सांस्कृतिक कार्यक्रमले पनि महोत्सवलाई थप आकर्षक बनाएका छन् ।
महोत्सवमा विभिन्न व्यापारिक स्टल, बालउद्यान, जिरो ग्राभिटी राइड, ३६० डिग्री राइड तथा पिरामिड गेटसमेत दर्शकका आकर्षण बनेका छन् ।
रेड रक इभेन्ट्स एण्ड म्यानेजमेन्टको आयोजना तथा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला परिषद् चितवनको सहआयोजनामा मंसिर ३ गतेदेखि सुरु भएको महोत्सव मंसिर १८ गतेसम्म सञ्चालन हुनेछ ।

















































