चितवन / नारायणगढस्थित नारायणी नदी किनारमा जारी दोस्रो ‘नारायणी महोत्सव–२०८३’ मा आज (आइतबार) चर्चित कलाकार प्रिति पासवान, हास्यकलाकार तथा गायक पुर्खे बा र गायिका माया रायमाझीले दर्शकलाई मनोरञ्जन प्रदान गर्ने भएका छन् ।
महोत्सवका सांस्कृतिक कार्यक्रम संयोजक राजेश भुजेलका अनुसार तीनै कलाकारले आ–आफ्नो विधामार्फत दर्शकलाई मनोरञ्जन दिनेछन् ।
आजको कार्यक्रममा प्रिति पासवानले नेपाली तथा भोजपुरी गीतमा आकर्षक नृत्य प्रस्तुत गर्नेछिन् । उनले ‘बसन्त नै बस्न खोज्छ यहाँ’, ‘माइती घर’, ‘बदनामी राजा जी’ र ‘कम्मरिया जिन्दगी भर रहिए राजा जी’ लगायतका चर्चित गीतमा नृत्य प्रस्तुत गर्ने कार्यक्रम छ ।
त्यस्तै, हास्यकलाकार तथा गायक पुरुषोत्तम भण्डारी ‘पुर्खे बा’ले हास्यव्यङ्ग्य, रमाइला प्रस्तुति र गीतमार्फत दर्शकलाई हँसाउनेछन् । उनका ‘असाध्यै बढ्या छ चिसो, कफी पिउँला सँगसँगै आउ छिटो’ र ‘पानी मरुवा’ लगायतका चर्चित गीतले महोत्सवमा थप रौनक थप्ने अपेक्षा गरिएको छ ।
- ADVERTISEMENT -

यसैगरी गायिका माया रायमाझीले ‘अहिलेको दशैंमा’ लगायतका गीत प्रस्तुत गर्नेछिन् । तीनै कलाकारका फरक स्वादका प्रस्तुतिले महोत्सवस्थलमा सांगीतिक रौनकसँगै हाँसो र मनोरञ्जनको माहोल सिर्जना गर्ने अपेक्षा गरिएको छ ।
महोत्सवमा दैनिकजसो राष्ट्रिय कलाकारहरूको सांगीतिक प्रस्तुति भइरहेका छन् । साथै नारायणी कला मन्दिर, नारायणगढका कलाकारहरूको सांस्कृतिक प्रस्तुति तथा आदिवासी जनजातिका मौलिक कला, संस्कृति र परम्परा झल्काउने कार्यक्रमसमेत सञ्चालन भइरहेका छन् ।
मंसिर २ गतेदेखि सुरु भएको महोत्सव मंसिर १८ गतेसम्म सञ्चालन हुनेछ । आयोजक रेडरक इभेन्ट्स एण्ड म्यानेजमेन्ट प्रालि र सह–आयोजक नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति चितवनको संयुक्त आयोजनामा महोत्सव भइरहेको छ ।















































