April 26, 2024

प्रधानमन्त्री र मन्त्रीहरुको दशैं भत्ता कोरोना नियन्त्रण कोषमा

October 19, 2020

काठमाडौं / प्रधानमन्त्री र मन्त्रीहरुको दशैं भत्ता कोरोना रोकथाम तथा नियन्त्रण कोषमा जम्मा गरिने भएको छ । मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्न आज सञ्चार तथा सुचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले प्रधानमन्त्री र मन्त्रीहरुको दशैं भत्ता कोरोना रोकथाम तथा नियन्त्रण कोषमा जम्मा गर्ने निर्णय भएको जानकारी गराउनुभयो ।
मन्त्री गुरुङले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई पनि कोरोना महामारीको समस्यालाई दृष्टिगत गर्दै दशैं भत्ताको सन्दर्भमा आवश्यक निर्णय लिन आग्रह गर्र्दै कोरानो भाइरस संक्रमणको अवस्थालाई ध्यानमा राख्दै दशैं परिवारभित्र मनाउन सबैलाई आग्रह गर्नुभयो ।
पत्रकार सम्मेलनमा मन्त्री गुरुङले सरकारले कोरोना उपचारबाट हात झिक्यो कि भन्ने भ्रम त्याग्न आग्रह गर्दै सरकारले कुनै पनि नागरिकलाई उपचारबाट बञ्चित नगर्ने स्पष्ट पर्नुभयो ।
मन्त्री गुरुङले विपन्न, गरीब, असहाय, जेष्ठ नागरिक र एकल महिला कोरोना भाइरसबाट संक्रमित भएकालाई निशुल्क उपचार गरिने वताउनुभयो ।
मन्त्रीपरिषद् बैठकले कोरोना संक्रमितको उपचारका लागि १५ दिन भित्रमा काठमाडौं उपत्यकामा दुई हजार र प्रत्येक प्रदेशमा दुई सय एचडियू बेड बनाउने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले जानकारी दिनुभयो ।
मन्त्रीपरिषद् बैठकले यातायातका साधन र हवाई उडानमा पुरानै भाडादर कायम गर्ने निर्णय गरेको छ ।
जसअनुसार सार्वजनिक यातायातका साधन र हवाई उडानमा गत चैत ११ गते लकडाउन हुनु अघिकै भाडादर कायम गरिएको मन्त्री गुरुङले जानकारी दिनुभयो ।
यसैगरी मन्त्रीपरिषद् बैठकले नेपालभरका श्रमसम्बन्धी मुद्दा हेर्ने गरी श्रम अदालत गठन गर्ने निर्णय गरेको छ । बैठकले कार्तिक ३० गतेसम्म हाल सञ्चालनमा रहेका १३ वटा नाकाबाट मात्र आवतजावतलाई निरन्तरता दिने र बाँकी सबै नाका बन्द रहने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -