March 16, 2025
- ADVERTISEMENT -

तीन सवारी दुर्घटनामा छ जनाको मृत्यु

September 25, 2019

नवलपरासी । नवलपरासीमा तीन छुट्टाछुट्टै दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । नवलपरासी, कावासोती नगरपालिका–८ को खरकट्टा जंगलमा सवारी दुर्घटना हुँदा ५ जनाको मृत्युु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ ख ८५३२ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा २१ च ६४०९ नम्बरको कारलाई ठक्कर दिएको हो । ठक्करबाट कारमा सवार ५ जना पुरूषको निधन भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
प्रहरीका अनुसार नवलपरासीको देवचुली नगरपालिका १, केउरानीका ३५ वर्षीय दीपक भन्ने पूर्णबहादुर विक, २९ वर्षीय हीरा राना, ३१ वर्षीय दिपेश राना, देवचुली ५ का दिलबहादुर ढेंगा मगर र कैलाली जिल्लाका सुरज राना मगरको मृत्यु भएको हो । ठक्कर दिने ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका कारका यात्रुहरुको जिल्ला सरकारी अस्पताल भरतपुर चितवनमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए ।
त्यसैगरी, पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका १० मा दाङबाट काठमाडौँ आउँदै गरेको ना ७ ख ८६४२ नम्बरको बस सोमबार राति दुर्घटना हुँदा एक जनाको निधन भएको छ भने बसमा सवार सबै घाइते भएका छन् । बस सडकछेउ पल्टन पुगेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए ।
घाइतेहरुमध्ये मकवानपुर जिल्लाको हेटौँडा घर बताउने बस चालक ३५ वर्षीय लक्ष्मण तिमिल्सिनाको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेहरुमध्ये १५ जनाको पहिचान भएको छ भने अन्य घाइतेहरुको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरुको कावासोतीको नवलपुर अस्पताल, कालीगण्डकी अस्पताल र चितवनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेहरुमध्ये १५ जनाको अवस्था गम्भीर रहेको छ ।

- ADVERTISEMENT -