February 15, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

२०७८ सम्ममा बागमती प्रदेशलाई बालविवाह मुक्त घोषणा गर्ने

September 18, 2020
sketch

–अशोक भाई लामा
मकवानपुर । सन्जुमाया चेपाङ अहिले १९ बर्षकी भईन् । उनका ३ छोराछोरी हुर्कंदै छन् । मकवानपुरको राक्सिराङ गाउँपालिका–८ की सन्जुमायाले ७ वर्षअघि गाउँकै २० वर्षीय मिलन चेपाङसँग प्रेम विवाह गरेकी थिइन् । उनले आफ्नो तिनवटै बच्चा घरमै जन्माएकी हुन् । कक्षा ६ मा पढ्दै गर्दा सन्जुमायाले भागेर बिहे गरिन् । कलिलै उमेरमा घर व्यवहार र छोराछोरीको जिम्मेवारीको बोझले थिचिएपछि सन्जुमाया अहिले भने सानै उमेरमा बिहे गरेर गल्ती गरेछु भनेर पछुतो लागेको दुखेसो पोख्छिन् ।
सन्जुमाया मात्र होइन उसँगैको साथीहरुको विवाह पनि कलिलै उमेरमा भइसकेको छ । सन्जुमायासँगै गाउँमा भेटिएकी सरिता चेपाङ झट्ट हेर्दा १३–१४ वर्षकी देखिन्छन् । चिटिक्क परेको शरीर बच्चालाई दूध चुसाउँदै गरेकी सरिताको अनुहारमा प्रष्टसँग बालापन झल्किरहेको देख्न सकिन्छ । तर, उनलाई पनि जिम्मेवारीले कसैको श्रीमती, आमा, बुहारी लगायत थुप्रै घरायसी व्यवहारमा जोडिएकी छिन् ।
राक्सिराङ ८ की सरितालाई भेट्ने जो कोही नयाँ मान्छेले उनलाई आमा बनिसकेको पत्याउन गाह्रो हुन्छ । ३ वर्षअघि बिहे गरेकी उनको अहिले ८ महिनाको एउटा बच्चा छ । आफूले कति वर्ष भयो र कति बर्षको उमेरमा बिहे गरे त्यो पनि आफुलाई थाहा नभएको उनले सुनाए ।
विद्यालय टेक्दै नटेकेकी सरितालाई आफ्नो स्याहार समेत गर्न सक्ने नहुँदै बच्चा हुर्काउनु पर्ने जिम्मेवारीको बाध्यताले घेरिएको छ । बिहे भने भागेर गरेको उनले भनिन्, बच्चा हेर्ने मेलापात जाने हो अरू केही आउँदैन उनले सुनाए । अहिले घरायसी काम गर्नु पर्ने र बच्चा भएपछि भने हतारमा बिहे गरेर दुःख पाएछु भन्ने लाग्ने गरेको भन्दै आफ्नो पिडा पोखिन् । सरिता र सन्जुमाया जस्तै गाउँमा सानै उमेरमा बिहे गर्ने बालिका र किशोरीहरु टन्नै भेटिन्छन् ।
साईली माया चेपाङ अहिले २४ बर्षकी भईन् । उनलाई श्रीमान्ले छोडेपछि माइतीमा बस्दै आएकी छिन् । ४ सन्तानकी आमा बनेपछि बूढी भएको भन्दै श्रीमानले छाडेर श्रीमान्ले अर्कैसँग बिहे गरेको उनले सुनाए ।
आफूले र आफ्नो साथीहरूले भोग्दै आइरहेको दुःखलाई नजिकबाट बुझेकी साईली माया चेपाङले सानै उमेरमा विवाह नगर्न सबैलाई अनुरोध गर्छिन् । आफूले धेरै दुःख पाएको र पढेर आफू सक्षम भएपछि मात्रै विहे गर्दा धेरै दुःख नपाइने उनले सुनाए ।
सूचना प्रविधि, संघसंस्था, स्थानीय सरकार सबैले बालविवाह सम्बन्धी चासोले राखेका छन् । अहिले चेपाङ समुदायमा सानैमा बिहे गर्ने चलनमा कमी आए पनि अझै अन्त्य भने भएको छैन । चेपाङ समुदायमा संस्कारकै रूपमा चल्दै आइरहेको बालविवाह रोक्न स्थानीय निकायले पहल गरिरहेको छ ।
चेपाङ समुदायमा १३–१४ वर्षको कलिलो उमेरमै विहे गर्ने चलन रहिआएको राक्सिराङ गाउँपालिका वडा नं ८ का वडाध्यक्ष रामकृष्ण प्रजा बताउनुहुन्छ । यस्तो चलनलाई हटाउनको लागि कलिलै उमेरमा बिहे भएको घरलाई स्थानीय सरकारले कुनै सेवासुविधा नदिने निर्णय गरेको उहाँ बताउनुहुन्छ । उहाँका अनुसार बागमती प्रदेशले २०७८ सम्ममा प्रदेशलाई नै बालविवाह मुक्त प्रदेश घोषणा गर्ने लक्ष्य राखेको छ ।

- ADVERTISEMENT -