March 16, 2025
- ADVERTISEMENT -

लकडाउन र निषेधाज्ञाले कुखुराजन्य व्यवसाय प्रभावित – अध्यक्ष केसी

October 9, 2020

चितवन / लकडाउन र निषेधाज्ञाले कुखुराजन्य व्यवसाय प्रभावित बनेको नेपाल अण्डा उत्पादक संघले जनाएको छ । संघका केन्द्रीय अध्यक्ष शिवराम केसीले लकडाउन र निषेधाज्ञाले अण्डा उत्पादनमा गिरावट आउनुका साथै कतिपय व्यवसायी पलायन भएको बताए ।
अध्यक्ष केसीका अनुसार प्रारम्भिक चरणमा गरिएको लकडाउनमा कारोवार ठप्प जस्तो भएको र किसानले धान्न नसकेर कुखुरा बेचेको छ । उनले भने पहिले सामान्य अवस्थामा दैनिक ३५ देखि ३६ लाख अण्डा उत्पादन हुँदै आएकोमा अहिले २५ देखि २६ लाख मात्रै अण्डा उत्पादन हुने गरेको बताए । अण्डाको खपत भने राम्रो भएको, माग बढ्दो, मानिसहरु घरमै बसेका कारण पनि अण्डाको खपत बढेको उहाँको भनाइ छ ।
यसबाट प्रत्यक्ष अप्रत्यक्ष रुपमा एक लाख जनाले रोजगारी पाइरहेको उनले बताए । नेपाल कुखुरा व्यवसायी मञ्चले नेपालमा ब्रोइलर चल्ला प्रति हप्ता ३५ लाख गोटा, लेयर्स चल्ला प्रति हप्ता दुई लाख गोटा, मासु दैनिक सात लाख केजी र दाना दैनिक २८ सय मेट्रिक टन उत्पादन भइरहेको जनाएको छ । जुन अनुपात कोरोना संक्रमणअघि निकै धेरै रहेको थियो ।
पाँच वर्ष अघिदेखि नेपालमा विश्व अण्डा दिवस मनाउन थालिएको यो दिवसमा यसवर्ष कुनै कार्यक्रम आयोजना गरिएको छैन । विश्वभर कुखुरापालन व्यवसायको विकाससँगै विश्वभरका पोल्ट्री व्यवसायीहरुको सन् १९९६ मा इन्टरनेसनल एग कमिशन स्थापना गरी हरेक वर्ष अक्टुवर महिनाको दोस्रो शुक्रबार विश्व अण्डा दिवस मनाउन सुरु गरिएको हो ।

- ADVERTISEMENT -