–डा दिलिप शर्मा
कोरोना भाइरसले रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई छिटो आक्रमण गर्छ । यस्ता व्यक्तिलाई संक्रमण भएमा उनीहरु सामान्य मानिसभन्दा छिटो गम्भीर बन्छन् ।
वृद्धवृद्धा र विभिन्न दीर्घकालीन रोगबाट ग्रसित व्यक्तिहरु संक्रमण र मृत्यु हुने दुवै जोखिममा पर्छन् । नेपालको परिप्रेक्ष्यमा हेर्न हो भने पनि दीर्घरोग भएका मानिसहरु कोरोना भाइरस संक्रमणबाट गम्भीर भएको देखिन्छ । मृत्यु हुने संख्या हेर्दा पनि दीर्घरोगीको धेरै छ ।
विभिन्न दीर्घरोगमध्ये कलेजो रोग पनि एक हो । कलेजोको रोगबाट पीडित व्यक्ति पनि संक्रमणको उच्च जोखिममा हुन्छन् ।
कलेजो र कोरोना भाइरसबीचको सम्बन्ध, यसले कसरी कलेजोलाई असर गर्छ, कसरी जोगिने भन्ने विषयमा हामीले कलेजो रोग विशेषज्ञ डा दिलिप शर्मालाई सोधेका छौं । उनको भनाइः
कोरोना र विभिन्न रोगको सम्बन्धलाई हेर्दा कोरोनाका बिरामीमा कलेजोको समस्या पनि देखिन्छ । कतिपय बिरामी कलेजो सुन्निएको रिपोर्ट लिएर डाक्टरकहाँ जाँदा कोरोना पोजिटिभ आएको देखिन्छ । वाकवाकी लाग्ने, खान मन नलाग्ने, कतिलाई जन्डिस पनि देखिने र लिभर इन्जायम बढेर जाने जस्ता लक्षण पनि देखिएको छ ।
केही मानिसमा कलेजो रोगको लक्षण जस्तो देखिने तर रोग चाहिँ कोरोना हुने पनि देखिएको छ । तर, जो मानिसलाई पहिलेदेखि नै कलेजोको रोग छ, (दीर्घकालीन लिभर सिरोसिस) ती मानिसलाई कोरोना संक्रमण हुने सम्भावना एकदमै धेरै हुन्छ । किनभने उनीहरुको रोगसँग लड्ने रोगप्रतिरोधात्मक क्षमता कम हुन्छ । त्यसैले कलेजोको दीर्घरोग भएका व्यक्तिले विशेष सुरक्षा अपनाउनुपर्छ ।
कलेजोको रोग भएका मानिसले विशेष सुरक्षाका उपाय अबलम्वन गर्ने, भीडभाडमा नजाने, जनस्वास्थ्यका मापदण्ड पालना गर्ने भौतिक दूरी कायम राख्ने गर्नुपर्छ । अर्को कुरा, कलेजो प्रत्यारोपण गरेका वा गर्नुपर्ने अवस्था भएका मानिसहरुले लिभर इम्युनिटी बढाउने औषधि खाइरहेका छन् भने उनीहरुको रोगसँग क्षमता झन कमजोर हुन्छ । उनीहरुलाई अरुलाई भन्दा छिटो संक्रमण हुने सम्भावना हुन्छ। यस्ता व्यक्तिले पनि बढी प्रिकन्सस लिनुपर्छ ।
अहिलेसम्म कलेजो रोगका बिरामीलाई कोरोना संक्रमण भएर कति बढी जोखिम हुन्छ भन्ने धेरै अध्ययन भएको छैन । कोभिड–१९ देखिएको धेरै समय नभएकाले यसले कुन रोगलाई कति असर गर्छ, कहाँ असर गर्छ अध्ययन भई पत्ता लाग्दै छ ।
कलेजो रोगीले सतर्क हुनुपर्छ ः
कोरोना भाइरसबाट बच्न कलेजोका बिरामीले पनि अरु मानिसले जे सुरक्षाका मापदण्ड अपनाउँछन्, त्यो त पालना गर्नै प¥यो । जस्तोः मास्क लगाउने, भौतिक दूरी कायम राख्ने र हातको सरसफाइ गर्ने, भीडभाडमा नजाने जस्ता उपाय त अपनाउनै पर्छ ।
त्यसबाहेक कलेजोका बिरामी विशेषगरी जसले कलेजो प्रत्यारोपण गरेको छ, उनीहरुले फ्लुहरुको भ्याक्सिन लिनुपर्छ। हेपाटाइटिस ‘बी’ को भ्याक्सिन लिएको छैन भने त्यो पनि लिनुपर्छ । किनभने, कोभिडको भ्याक्सिन त बनेको छैन। तर पनि अरु रोगको लक्षण पनि कोरोना जस्तै हुने भएकाले मानिस झुक्किन सक्छन् ।
त्यसकारण, घरमै बस्ने, स्वस्थ खानेकुरा खाने, नियमित औषधि खाने र अत्यावश्यक भएपछि मात्र चिकित्सककहाँ जानुपर्छ । हामीले बिरामीलाई सकेसम्म फोनबाटै परामर्श लिन भनेका छौँ । मैले आफ्ना बिरामीलाई सकेसम्म फोनमै सल्लाह र परामर्श लिइरहेको हुन्छु ।
विशेष ख्याल राखौं ः
कलेजोका बिरामीले दसैं होस वा अन्य समय, अल्कोहल खानै हुँदैन । दसैं त हो नि भनेर खाँदा थप असर गर्छ । अल्कोहलले यसै पनि कलेजोलाई खराब गर्छ । दसैंमा धेरै मासु खाने, अल्कोहल खाने, चिल्लोपिरो धेरै खाने पहिलेदेखिको चलन हो । यी खानेकुराले कलेजोलाई असर गर्छ । त्यसमाथि कोरोना भयो भने त गम्भीर स्थिति हुनसक्छ ।
दसैंमा धेरै मासु खाने चलन छ । मासु खानै नहुने भन्ने होइन तर जसको फ्याट्टी लिभर छ, धेरे बोसो लागेको छ । उसले रातो मासु नखाएकै राम्रो हुन्छ । यस्ता व्यक्तिले मासु खानै परेमा पनि सेतो मासु खानमा जोड दिनुहोला ।
दसैंमा जमराको जुस पनि धेरैले खाएको पाइन्छ । कति व्यक्तिले जमराको जुसले कलेजोलाई राम्रो गर्ने वा जन्डिस ठिक गर्छ भनेको पनि सुनिन्छ । तर कलेजोका बिरामीले यस्तो कुनै जोखिम नलिनुहोला । किनभने, कलेजोलाई यस्ता खालका अनावश्यक कुराले फाइदा गर्दैन, बरु झन् खराब गर्छ ।
जमराको के फाइदा छ भन्नेबारे आयुर्वेदले भन्ला तर कलेजोको औषधि खाइरहनुभएका व्यक्तिले नियमित औषधि सेवन गर्ने तर चिकित्सकले भनेको बाहेक आफूखुसी जमरा वा अरु कुनै जुस, औषधि प्रयोग नगर्नुहोला । –स्वास्थ्यखबरबाट
‘कलेजो रोगबाट पीडित कोभिड–१९ को उच्च जोखिममा’
October 27, 2020
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -