December 4, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

आन्दोलन गर्न दाहाल–नेपाल समूह एक्लै सडकमा

January 2, 2021
Photo : Nagrik khabar

काठमाडौं / विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूह सरकार विरुद्धको आन्दोलनमा एक्लै जाने भएको छ । कांग्रेस र जनता समाजवादी पार्टीले संयुक्त आन्दोलनको प्रस्तावलाई अस्वीकार गरेपछि सो समूह आन्दोलनका कार्यक्रम लिएर एक्लै संघर्षमा उत्रन लागेको हो ।
पुस १४ गते देशभर एकसाथ विरोधसभा गरेको सो समूहले संघर्षका थप कार्यक्रमका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग सहकार्य गरेर संयुक्त आन्दोलनको कार्यक्रम घोषणा गर्ने तयारी गरेको थियो । तर ती दलले संयुक्त आन्दोलनप्रति रुचि नदेखाएपछि एकल रूपमा संघर्षका कार्यक्रम घोषणाको तयारीमा दाहाल–नेपाल समूह लागेको हो । अहिले जिल्लाजिल्लामा प्रतिनिधिसभा विघटनविरुद्ध सो समूहको प्रदर्शन भइरहेको छ । साथै सबै जनवर्गीय संगठन र मोर्चा संगठनका केन्द्रीय बैठक र भेला पनि भइरहेका छन् । २० गते सबै नगरपालिका र गाउँपालिकासम्म पार्टी बैठक र भेला तथा पुस २५ गते सबै वडामा बैठक र भेला गर्ने दाहाल–नेपाल समूहले जनाएको छ ।
सो समूहका पार्टी अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले पुस १५ गते नै सरकारविरुद्ध आन्दोलनका लागि थप कार्यक्रम घोषणा गर्ने बताएका थिए । तर बुधबार सो समूहको स्थायी कमिटीको बैठक नै बस्न सकेन । दाहालपत्नी सीता दाहाल बिरामी परेका कारण स्थायी कमिटीको बैठक बस्न नसकेको बताइएको छ । तर सो पार्टीका एक नेताका अनुसार कांग्रेसले सुरुमा संयुक्त आन्दोलनका लागि ‘ग्रिन सिग्नल’ दिएको थियो ।
बिहीबार र शुक्रबार भएका अनौपचारिक भेटघाटमा कांग्रेस र जसपाका नेताहरूले संयुक्त आन्दोलनप्रति रुचि नदेखाएपछि संघर्ष समितिको बैठकबाट शनिबार वा आइतबार संघर्षका अन्य कार्यक्रम घोषणा गर्ने तयारी भइरहेको छ । संघर्ष समितिका सचिव सूर्य सुवेदीका अनुसार केही दिनमा समितिको बैठकबाट आन्दोलनका थप कार्यक्रमको घोषणा हुनेछ ।
दाहाल–नेपाल समूहका धेरैजसो केन्द्रीय सदस्य तथा सांसद जिल्लाजिल्लामा खटिएका छन्। उनीहरूले आफ्नो कार्यक्षेत्रमा परेका सबै कमिटीको बैठक र भेला राख्दै पार्टी विभाजनको औचित्यबारे प्रस्ट्याइहेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सत्तारूढ दल विभाजित भएर दाहाल–नेपाल समूह बनेको थियो । सो समूहले पहिलो चरणको कार्यक्रमअन्तर्गत देशभर विरोधका कार्यक्रमहरू गरिरहेका छन् । आन्दोलनको कमान्डरका रूपमा पार्टीका प्रवक्ता रहेका नारायणकाजी श्रेष्ठलाई तोकिएको छ। संसद् पुनःस्थापनासहितका विभिन्न माग राखेर दाहाल–नेपाल समूहले देशभर आन्दोलन गरिरहँदा कांग्रेस र जसपाले पनि सरकारको विरोध गरेपछि संयुक्त आन्दोलनको प्रस्ताव गरिएको थियो। संयुक्त आन्दोलनका लागि पहिलो चरणमा कांग्रेस पार्टी कार्यालयमा संयुक्त बैठक बसे पनि त्यसले कुनै ठोस प्रस्ताव गरेको थिएन । कांग्रेसले पुस १३ गते र नेकपा दाहाल–नेपाल समूहले १४ गते अलगअलग विरोध प्रदर्शन गरेका थिए ।
‘कांग्रेस र जसपासँग संयुक्त संघर्ष समिति बनाएर जाने कुराकानी चलिरहेको छ । त्यसकारण आन्दोलनका कार्यक्रम घोषणामा हुन ढिलाइ भएको हो,’ संघर्ष समितिका सचिव सुवेदीले भने । उनका अनुसार अबको केही दिनमै संघर्ष समितिको कार्यक्रम घोषणा हुनेछ । प्रधानमन्त्री ओली समूहलाई काउन्टर दिनेगरी दाहाल–नेपाल समूहले तल्लो तहसम्म कार्यक्रमहरू आयोजना गरिरहेको छ । गाउँपालिकास्तरमै कार्यकर्ता भेला गरेर पार्टी विभाजन हुनुको कारणबारे कार्यकर्तालाई प्रशिक्षण गर्ने काम भइरहेको जनाइएको छ । टपेन्द्र कार्कीले नागरिक दैनिकमा समाचार लेखेका छन् ।

- ADVERTISEMENT -