February 6, 2025
- ADVERTISEMENT -

चितवनमा ‘रामनगर पुष्प बाटिका’ माघ १ गतेबाट संचालन

January 9, 2021

चितवन / रामनगर पुष्प बाटिका निर्माण समितिले माघ १ गते ‘रामनगर पुष्प बाटिका’को सेवा शुभारम्भ गर्ने भएको छ । भरतपुर महानगरपालिका १ रामनगरमा शनिबार गरिएको पत्रकार सम्मेलनमा जनस्तरबाट सुरु गरिएको ‘रामनगर पुष्प बाटिका’ को सेवा शुभारम्भ माघ १ गते हुन गइरहेको प्रमुख संरक्षक तारानाथ कुँवरले जानकारी दिए ।
प्रमुख संरक्षक कुँवरले गत असार २३ गतेबाट सुरु गरिएको पुष्प बाटिका साढे २ विगाह क्षेत्रफलमा निर्माण भइरहेको बताए । जनस्तरबाटै १४ हजारबाट सुरु गरिएको उक्त पुष्प बाटिका पाँच महिनामा साढे १२ लाख संकलन भएको छ भने हालसम्म निर्माणमा १६ लाख खर्च भएको उनको भनाइ छ ।
उनका अनुसार आम्दानी भन्दा खर्च बढी भएको भए पनि बोलकबोल गरिएका व्यक्तिहरुबाट उठ्ने क्रम जारी रहेको बताए । बाहिरीबाट आउने स्रोत हाल केही नभएको कारण हाल समाजभित्रका दाताहरुबाटै आर्थिक संकलन भइरहेको बताइएको छ ।


उनले पर्यटकीय दृष्टिकोणले निर्माण भइरहेको, हाललाई आन्तरिक पर्यटकलाई लक्षित गरिएको भएपनि भविष्यमा बाह्य पर्यटनलाई समेत आकर्षित गर्न सकिने विभिन्न ताल, सिमसार जस्ता ठाउँ हेर्न लायकको रहेको उनको जिकिर छ ।
सतनचुली सामुदायिक वन अन्तर्गत निर्मित पुष्प बाटिकामा बुद्धको मूर्ति स्थापना, चिल्ड्रेन पार्क, गरुडको मूर्ति, शिवको मूर्ति स्थापना भएको छ भने आकर्षक पुष्प गार्डेन तथा नर्सरीको तयारी तिब्र गतिमा भइरहेको छ । जनस्तरबाट उक्त बाटिकाका लागि करिब एक हजार जनाको जनश्रमदान रहेको र सबै उत्साहित रहेको उनले बताए ।


कार्यक्रममा निर्माण समितिका अध्यक्ष डिलकुमारी लामिछानेका अनुसार पुष्प बाटिकामा आन्तरिक पर्यटक भित्र्याउने र हाललाई विशेष गरी मुग्लिन–नारायणगढका यात्रुहरुलाई थकाइ मार्ने तथा मनोरंजन दिने हुने बताइएको छ । ‘हाम्रो रामनगर, राम्रो रामनगर’ भन्ने नाराका साथ अघि बढिरहेको यो पुष्प बाटिकाले समाजकै स्तरोन्नतिमा टेवा पुग्ने उनको विश्वास छ ।


समितिका सल्लाहकार भरत कुँवरले यो बाटिका देशकै नमूना बाटिका बनाउने लक्ष्य रहेको बताए । भविष्यमा रामनगरको पहिचान यसै बाटिकाबाट झल्किने बनाउने उद्देश्य रहेको उनको भनाइ छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -