April 23, 2025

स्रोत नखुलेको १ करोड बढी रकमसहित १२ जना पक्राउ

June 9, 2021
- ADVERTISEMENT -

रौतहट / रौतहट प्रहरीले सिमा क्षेत्रबाट स्रोत नखुलेको १ करोड रुपैयाँभन्दा बढी रकम बरामद गरेको छ । भारतबाट नेपाल भित्र्याउँदै गरेको अवस्था प्रहरीले यस आर्थिक वर्षमा १ करोड १७ लाख ८६ हजार रुपैंया बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय रौतहटले दिएको जानकारी अनुसार विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा नौ पटक स्रोत नखुलेको रकमसहित ओसार पसारमा संग्लन १२ जनालाई पक्राउ गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक सिद्धि विक्रम शाहका अनुसार प्रहरीले बुधवार परोहा नगरपालिकाको रामपुरबाट स्रोत नखुलेको ३० लाख ७६ हजार रुपैंयासहित दुई जनालाई नियन्त्रणमा लिएको छ । भारततर्फबाट आउँदै गरेको बिआर शून्य ५ आर ४५२१ नम्बरको भारतीय मोटरसाइकलमा सवारलाई परोहा नगरपालिका- ९ रामपुरखापमा चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवारा युवको साथबाट सो रकम बरामद भएको हो । क्राउ पर्नेमा भारतको बिहार मोतिहारी जिल्लाको घोडासान बस्ने बन्टी कुमार कलवार र सुरज कलवार रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले बताएको छ ।
सो रकम राजपुरको एक ईंटा भट्टामा पुर्‍याउन आएको पक्राउ परेका बन्टी कुमारले प्रहरी समक्ष बताएका छन् । शरिरको विभिन्न भागमा र झोलामा समेत लुकाएर ल्याउँदै गर्दा बरामद भएको उक्त रकमको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । भारततर्फ रहेको नेपाली रकम अवैध तरिकाले भित्र्याउने र नेपाल भित्र हुण्डी कारोबार गर्नेहरुलाई यहाँको प्रहरीले पटक-पटक पक्राउ गर्दै आएको छ ।
तर नियन्त्रण भने हुन सकेको छैन । यसरी पक्राउ पर्नेमा अधिंकाश भारतीय नागरिक नै हुने गरेका छन् । कोरोनाका कारण सिमा नाका बन्द हुँदा पनि स्रोत नखुलेको रकम बरामद हुने गरेको छ ।

- ADVERTISEMENT -