चितवन / नारायणी नदी किनारमा जारी दोस्रो ‘नारायणी महोत्सव–२०८३’ मा चौथो दिन आइतबार दर्शकको उल्लेख्य भीड लागेको थियो । महोत्सवमा अवलोकन तथा मनोरञ्जनका लागि आउने सर्वसाधारणको चहलपहल दिनप्रतिदिन बढ्दै गएको छ ।
महोत्सवको मुख्य आकर्षणका रूपमा रहेको पिरामिड शैलीको आकर्षक प्रवेशद्वार, जिरो ग्र्याभिटी राइड र रोटेपिङले दर्शकको ध्यान खिचेको छ । प्रवेशद्वारमा फोटो खिच्ने तथा विभिन्न मनोरञ्जनात्मक खेल र राइडमा रमाउने दर्शकको उल्लेख्य उपस्थिति देखिएको थियो ।
महोत्सवको सांस्कृतिक कार्यक्रममा राष्ट्रिय कलाकार रविन लामिछाने र तारा थापाले दर्शकलाई भरपुर मनोरञ्जन दिलाएका थिए । सांस्कृतिक कार्यक्रम संयोजक राजेश भुषालका अनुसार दुवै कलाकारले आफ्ना लोकप्रिय गीत तथा लोकदोहोरी प्रस्तुत गर्दा दर्शक गीतसँगै झुमेका थिए ।
त्यस्तै, जादुगर गुन्द्रुकेको रोचक जादु प्रस्तुतिले बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मको ध्यान खिचेको थियो । विश्वकै होचा व्यक्ति मनोज गोर्खालीको उपस्थितिले पनि महोत्सवमा थप रौनक थपेको थियो । उनलाई नजिकबाट हेर्न दर्शकको भीड लागेको थियो भने दर्शकले स्वेच्छाले नगद सहयोगसमेत गरेका थिए ।
- ADVERTISEMENT -

आन्तरिक पर्यटन प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरण र रोजगारी सिर्जनालाई उद्देश्य बनाएर आयोजना गरिएको महोत्सवमा विभिन्न व्यापारिक स्टल, स्थानीय उत्पादन, खानाका परिकार तथा मनोरञ्जनात्मक गतिविधि राखिएका छन् । महोत्सवले स्थानीय व्यवसायी तथा उत्पादकलाई आफ्ना वस्तु तथा सेवाको प्रचारप्रसार र बजारीकरण गर्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ ।
रेड रक इभेन्ट्स एण्ड म्यानेजमेन्ट प्रालिको आयोजना तथा आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् चितवनको सहआयोजनामा सञ्चालित महोत्सव मंसिर १८ गतेसम्म चल्नेछ ।
संयोजक भुषालले आगामी दिनमा पनि विभिन्न राष्ट्रिय कलाकारको सांगीतिक प्रस्तुति तथा मनोरञ्जनात्मक कार्यक्रमलाई निरन्तरता दिने बताए । साथै, परिवारसहित महोत्सवमा सहभागी भई अवलोकन तथा मनोरञ्जन लिन आयोजकले सर्वसाधारणलाई आग्रह गरेको छ ।















































