February 8, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भरतपुर अस्पतालको शव उचित व्यवस्थापन नहुँदा दुर्गन्ध बढ्दै

July 6, 2021

–सुरक्षा न्यौपाने
चितवन / भरतपुर अस्पतालमा सनाखत नभएका शवको उचित व्यवस्थापन नहुँदा दुर्गन्ध बढ्दै गएको छ । भरतपुर अस्पताल जिल्लाको एकमात्र शव गृह भएकोले हरेक दिन फरक फरक प्रकृतिका शवहरु परीक्षणका लागि ल्याइने गरिन्छ । दैनिक ४–५ वटा परीक्षणका लागि ल्याइने शवहरुको व्यवस्थापन नहुँदा र उपर्युक्त उपकरण नहुँदा शवगृह दुर्गन्धित बनेको छ ।
भरतपुर सरकारी अस्पतालका सुरक्षा इन्चार्ज प्रहरी हवल्दार विश्वनाथ यादवले शवलाई चिसो बनाएर राख्ने फ्रिजरको अभावका कारण आफूहरुलाई दैनिक काम गर्न कठिनाइ भएको बताए । कम्तिमा पनि हरेक दिन ४–५ वटा शव राख्नुपर्ने भएपछि ती शवको व्यवस्थापन गर्न गाह्रो भएको उनको भनाइ छ ।
उनका अनुसार शवगृहमा भएका २० वटा फ्रिजरहरूमा ९ वटा फ्रिजरहरू बिग्रीएर काम नलाग्ने अवस्थामा छ । सम्बन्धित निकायलाई पटक पटक जानकारी गराउँदा समेत मर्मत सम्भारको लागि केही पहल नभएको उनले भने ।
शवहरु अलपत्र अवस्थामा ३–४ महिनासम्म रहेका छन् भने आवश्यक उपकरण नहुँदा लास कुहिएर दुर्गन्ध फैलिँदै गएको छ । शव राख्ने ठाउँ र साधन नभएकोले कुनै दिन भुइँमा राख्न समेत बाध्य भएको बताइएको छ । कुहिएको लासले गर्दा शवगृहमा खटिने डाक्टर र सुरक्षाकर्मीको स्वास्थमा नै समस्या आउन सक्ने उनले बताए ।
त्यस्तै भरतपुर अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डा कृष्णप्रसाद पौडेलले २० वटा फ्रिजरहरू मध्ये केही मात्रै नचलेको अवस्थामा रहेको बताए । उनले सोमबार मात्रै पुरानो बेवारिसे अवस्था रहेको शवहरु महानगरले व्यवस्थापन गरिसकेको र बाँकी ३ वटा शवहरु रहेको उनको भनाइ थियो ।
उनले बेवारिसे शवहरुलाई महानगरले व्यवस्थापन गर्नुपर्ने र शव नउठाउँदा राख्नुपर्ने बाध्यता रहेको बताए । डा पौडेलका अनुसार बेवारिसे अवस्थामा भेटिएका शवहरु कानुनतः २ महिना अवधिमा मात्रै स्थानीय तहले व्यवस्थापन गर्नुपर्ने व्यवस्था रहेको छ ।
मेडिकल सिटिको रुपले चिनिएको चितवन जिल्लामा रहेको एकमात्र शवगृहमा चितवनको मात्र नभएर अन्य जिल्ला अस्पतालहरुले पनि शव पठाउँदा व्यवस्थापन गर्न कठिन भएको डा पौडेलको भनाई छ । मेडिकल सिटिको रुपमा परिचित भरतपुरमा एउटा मात्र शवगृह हुनु आफैमा लजास्पद रहेको उनी बताउँछन् ।
भरतपुर अस्पतालले पटक पटक नजिक रहेका नवलपुर, मकवानपुर, धादिङ्ग, गोरखा लगायतका जिल्लाहरुलाई पत्राचार गरेर नै शव नपठाउन आग्रह गरेको जिकिर गरे । सम्बन्धित जिल्ला अस्पतालमा नै शव परीक्षण गर्ने व्यवस्था मिलाउन आग्रह गरिए पनि आउनेक्रम नरोकिएको उनले बताए ।

- ADVERTISEMENT -